काठमाडौं । विश्वकै ठूलो सामाजिक तथा मानवीय सेवामूलक संस्था लायन्स क्लव अन्तर्राष्ट्रिय अन्तर्गत नेपाल च्याप्टरको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ। यही जेठ १६ गते महाधिवेशन काठमाडौंस्थित भृकुटी मण्डपमा रहेको नेपाल पुलिस क्लबमा आयोजना हुने भएकाे हाे ।
महाधिवेशनको उद्घाटन प्रतिनिधिसभाका सभामुख डाेलप्रसाद अर्यालले गर्ने कार्यक्रम तय भएको छ।
कार्यक्रममा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २० जना लायन्स सदस्य सांसदहरूलाई सम्मान गरिनेछ । सभामुख अर्याल स्वयं पनि लायन्स सदस्य हुन् ।
मिडिया चियर लायन राम शरण बस्नेतका अनुसार लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत नेपालमा हाल झन्डै ४७ हजार सक्रिय सदस्य, २ हजार ४ सय क्लब तथा १५ वटा डिस्ट्रिक्ट रहेका छन् । संस्थाको ५५ वर्षे इतिहासमा पहिलो पटक महिला काउन्सिल चेयरपर्सन निर्वाचित भई पोखराकी मिलन थापाले नेतृत्व गरिरहेकी छन् । उनको कार्यकाल आगामी जुन ३० मा सकिनेछ भने जुलाई १ देखि नयाँ लायन्स वर्ष सुरु हुनेछ।
नयाँ नेतृत्व चयनका लागि जेठ १४ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने छ। लायन्स मल्टिपलको विधानअनुसार काउन्सिल परिषद्को अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहसचिव पदमा निर्वाचन हुनेछ भने अन्य केही पद मनोनयनमार्फत चयन गरिनेछ ।
लायन्स अन्तर्राष्ट्रियले नेपालमा स्वास्थ्य, शिक्षा, वातावरण तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुर्गम क्षेत्रसम्म पुगेर सेवा पुर्याउने संस्थाले आँखा अस्पताल, मुटुरोग उपचार केन्द्र, विद्यालय भवन निर्माण लगायतका स्थायी परियोजनामा योगदान दिँदै आएको छ ।
भूकम्प, बाढीपहिरोलगायत प्राकृतिक विपद्का समयमा पनि लायन्सका सदस्यहरूले उद्धार तथा राहतमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । अन्धोपन निवारण तथा दादुरा–रुबेला खोप अभियानमा समेत संस्थाले नेपाल सरकारसँग सहकार्य गर्दै आएको छ।
सन् १९१७ मा अमेरिकाको शिकागाेमा स्थापना भएको लायन्स अन्तर्राष्ट्रिय नेपालमा भने सन् १९७१ मा स्वर्गीय पूर्वप्रधानमन्त्री मातृका प्रसाद काेइरालाकाे नेतृत्वमा विराटनगरबाट सुरु भएको थियो ।
यस वर्षको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी जुलाई ३ देखि ७ तारिखसम्म हङकङमा आयोजना हुँदैछ । साथै आगामी डिसेम्बर १६ देखि १९ तारिखसम्म विभिन्न १४ देशका करिब ३ हजार प्रतिनिधि सहभागी हुने क्षेत्रीय सम्मेलन ‘आईसेम फोरम (ISAME Forum)’ पनि काठमाडौंमा आयोजना हुने मिति तय भएको छ ।

प्रतिक्रिया