मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ

File Photo

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार राति पर्साको वीरगञ्जबाट पक्राउ परे ।

जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई वीरगञ्जस्थित एक होटलबाट नियन्त्रणमा लिएको जनाएको छ। पक्राउका क्रममा केही समय वादविवादसमेत भएको थियो।

उनीविरुद्ध कुन कसुरमा अनुसन्धान भइरहेको भन्ने विषयमा पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी हरि बस्नेत ले प्रसाईंका अभिव्यक्ति तथा सार्वजनिक शान्तिमा खलल पुर्‍याउने गतिविधिबारे अनुसन्धान भइरहेको जानकारी दिए। हाल प्रसाईं प्रहरी हिरासतमा नै रहेका छन्।

प्रसाईंविरुद्ध म्याद थपको प्रक्रिया भने अझै अघि बढाइएको छैन।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए । उनी मंगलबार हुने एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेको बताइएको छ।

वीरगञ्ज पुग्ने क्रममा उनले विमानस्थलमै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वर्तमान सरकार र केही सांसदहरूमाथि आलोचनात्मक टिप्पणी गरेका थिए ।