नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली को भक्तपुरस्थित गुण्डु निवासमा दिउँसो १ बजे बस्ने तय भएको कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन्।
यसअघि जेठ २ गतेका लागि तय गरिएको बैठक तयारी नपुगेको कारण आजका लागि सारिएको हो। ११औँ महाधिवेशनपछि नेताहरुको कार्यविभाजन हुन नसकेको अवस्थामा आजको बैठक मुख्यतः जिम्मेवारी बाँडफाँडमै केन्द्रित हुने बताइएको छ।
पार्टीका एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिकास्तरसम्म जिम्मेवारी दिएर खटाउने तयारी गरिएको छ। प्रत्येक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढ गर्ने रणनीति बनाइनेछ। साथै, केन्द्रीय विभाग र विभिन्न निकायमा समेत जिम्मेवारी बाँडफाँड गरिने तयारी छ।
बैठकले फागुनमा सम्पन्न निर्वाचनको समिक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति समेत तय गर्नेछ।
यसका अतिरिक्त, सरकारले जबरजस्ती हटाएका सुकुम्बासीको व्यवस्थापन, उनीहरुमाथि परेको प्रभाव तथा सरकारका पछिल्ला कामकारबाहीले जनतामा पारेको असरबारे पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन्।

प्रतिक्रिया