नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने, प्रधानमन्त्री बालेन नआउने


संघीय संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।

यसअघि प्रधानमन्त्री बालेन शाहले नै संसद्‌मा जवाफ दिने गरी संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको भए तापनि प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि उनको सट्टा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने तय भएको हो।

प्रतिनिधि सभाको बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए। संसद सचिवालयका अनुसार आजको बैठकमा उक्त नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने, सांसदहरूबाट प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र आजै नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी रहेको छ।

यसअघि हिजोको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले नीति तथा कार्यक्रममाथि आ-आफ्नो धारणा राख्दै सम्बोधन गरेका थिए।