पश्चिमी वायु सक्रिय, देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


काठमाडौँ — नेपालमा पश्चिमी वायुको नयाँ प्रणाली सक्रिय हुँदै देशभर वर्षा गराउने सम्भावना देखिएको छ। मौसमविद्हरूका अनुसार यस प्रणालीको प्रभावले आगामी दिनमा मध्यमदेखि भारी वर्षासँगै चिसो महसुस बढ्ने अनुमान गरिएको छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार पश्चिमी वायुले उत्तरतर्फको चिसो हावा नेपालतर्फ ल्याउने भएकाले यसै हप्ता वर्षासँगै तापक्रम घट्ने र जाडो महसुस हुने अवस्था सिर्जना हुनेछ। उनका अनुसार वैशाख २८ गते रातिदेखि देशभर राम्रै वर्षा हुने सम्भावना छ।

यस्तै, मौसमविद् उज्ज्वल उपाध्यायले सोमबार र मंगलबारदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने बताएका छन्। उनका अनुसार यो प्रणाली भारतको तमिलनाडु र आन्ध्र प्रदेश हुँदै नेपालसम्म छिटो फैलिने देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न भागमा बादल लाग्ने र वर्षा भइरहेको छ।

विभागका अनुसार आगामी दुई दिनसम्म देशका हिमाली, पहाडी तथा तराई भू–भागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रि–मनसुन अवधिमा पटक–पटक हुने वर्षाका कारण गर्मीको समयमा पनि चिसो महसुस हुने मौसमविद्हरूले बताएका छन्।