जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ। शुक्रबार विभागले वार्षिक मनसुन पूर्वानुमान सार्वजनिक गर्दै यो वर्ष गत वर्षहरूको तुलनामा देशका विभिन्न क्षेत्रमा वर्षा उल्लेखनीय रूपमा कम हुने जनाएको छ।
तापक्रम पनि सरदरभन्दा माथि रहने
विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यो वर्ष अधिकतम तथा न्यूनतम दुवै तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जनाएको छ। अर्थात् यो मनसुन सिजनमा गर्मी पनि सामान्यभन्दा बढी हुने अपेक्षा गरिएको छ, जसले कृषि उत्पादन र जनजीवनमा थप दबाब पर्न सक्ने चिन्ता बढेको छ।

कुन प्रदेशमा कति पानी पर्ने ?
महाशाखाले प्रदेशगत विस्तृत पूर्वानुमान यसप्रकार सार्वजनिक गरेको छ:
सरदर वर्षा हुने क्षेत्र: कर्णाली प्रदेशको उत्तरी भू–भाग र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदर वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
५५–६५ प्रतिशत सम्भावनाले सरदरभन्दा कम वर्षा हुने क्षेत्र:
- कर्णाली प्रदेशको दक्षिणी भू–भाग
- लुम्बिनी प्रदेशको अधिकांश भू–भाग
- मधेश प्रदेशको पूर्वी भू–भाग
- कोशी प्रदेशको दक्षिणी भू–भाग
४५–५५ प्रतिशत सम्भावनाले सरदरभन्दा कम वर्षा हुने क्षेत्र:
- सुदूरपश्चिम प्रदेशको अधिकांश भू–भाग
- मधेश प्रदेशको पश्चिमी भू–भाग
- कोशी प्रदेशको मध्य भू–भाग

प्रतिक्रिया