चीनले भ्रष्टाचारको आरोपमा आफ्ना दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दुवैलाई सुरुमा दुई वर्षको स्थगित मृत्युदण्ड (Suspended Death Sentence) दिइएको छ। यदि उनीहरूले उक्त अवधिमा कुनै नयाँ अपराध नगरेमा सजायलाई आजीवन कारावासमा रूपान्तरण गर्न सकिने बताइएको छ।
ली साङ्फुलाई गत वर्ष अचानक रक्षामन्त्री पदबाट हटाइएको थियो। उनी लामो समय सार्वजनिक कार्यक्रममा नदेखिएपछि चीनभित्र र बाहिर विभिन्न अड्कलबाजीहरू सुरु भएका थिए। पछि चिनियाँ अधिकारीहरूले उनीमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान भइरहेको पुष्टि गरेका थिए।
चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार, सैन्य अनुशासन अनुसन्धान एजेन्सीले लीले “गम्भीर रूपमा पार्टीको अनुशासन र कानुन उल्लङ्घन” गरेको निष्कर्ष निकालेको छ। उनीमाथि ठूलो परिमाणमा घुस लिएको, अरूलाई घुस दिएको तथा पदको दुरुपयोग गरेको आरोप छ। अनुसन्धान प्रतिवेदनमा उनका गतिविधिले चिनियाँ सेनाको हतियार विकास र सैन्य उपकरणको विश्वसनीयतामा गम्भीर असर परेको उल्लेख गरिएको छ।
त्यस्तै, पूर्व रक्षामन्त्री वेई फेङ्गेमाथि पनि घुस लिएको तथा आफ्नो पदको दुरुपयोग गरेको आरोप लागेको छ। चीनको सैन्य अदालतले उनलाई भ्रष्टाचारमा दोषी ठहर गरेको हो। अनुसन्धान अनुसार, उनले रक्षा मन्त्रालय र सेनासँग सम्बन्धित निर्णयहरूमा फाइदा पुर्याएबापत घुस लिएका थिए।
वेई फेङ्गे चीनका प्रभावशाली सैन्य अधिकारीमध्ये गनिन्थे। उनी सन् २०१८ देखि २०२३ सम्म चीनका रक्षामन्त्री थिए भने यसअघि चिनियाँ सेनाको ‘पीएलए रकेट फोर्स’ का कमान्डरसमेत भइसकेका थिए। उक्त फोर्सले चीनको मिसाइल तथा परमाणु हतियार प्रणाली सञ्चालन गर्छ।
रिपोर्टका अनुसार, हाल चीनमा चलिरहेको भ्रष्टाचार अनुसन्धानको मुख्य केन्द्र पीएलए रकेट फोर्स र सेनाको हतियार खरिद विभाग बनेको छ। सेनाका लागि हतियार खरिद, रक्षा सम्झौता तथा सैन्य उपकरण आपूर्तिमा व्यापक भ्रष्टाचार भएको आशंका गरिएको छ। ठेक्का तथा रक्षा सम्झौतामा घुस लिएको आरोपमा कैयौँ अधिकारी अनुसन्धानको दायरामा आएका छन्।
ली साङ्फु र वेई फेङ्गेको मामिलाको अनुसन्धान चीनको सर्वोच्च सैन्य निकाय सेन्ट्रल मिलिट्री कमिसन (सीएमसी) अन्तर्गतका एजेन्सीहरूले गरेका थिए। सीएमसी चीनको सेनामाथि नियन्त्रण राख्ने सर्वोच्च संस्था हो, जसको अध्यक्ष राष्ट्रपति सी जिनपिङ हुन्।
विश्लेषकहरूका अनुसार, पछिल्ला वर्षहरूमा चीनको सेना र रक्षा क्षेत्रका वरिष्ठ अधिकारीमाथि गरिएको कारबाही राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानकै हिस्सा हो। पछिल्लो एक वर्षमा मात्रै चीनको सैन्य तथा एरोस्पेस क्षेत्रसँग सम्बन्धित दर्जनौँ उच्च अधिकारीहरूलाई पदबाट हटाइएको छ।

प्रतिक्रिया