एशियाली विकास बैंक (एडिबी) ले सार्वजनिक गरेको नयाँ प्रक्षेपणले नेपालको अर्थतन्त्र बाह्य र आन्तरिक दबाबबीच कमजोर हुने संकेत गरेको छ। आर्थिक वर्ष २०२६ मा आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित रहने अनुमानले अर्थतन्त्र अझै जोखिममुक्त नभएको देखाएको हो।
एडिबीको ‘Asian Development Outlook’ प्रतिवेदनअनुसार गत वर्षको तुलनामा वृद्धि घट्नुको मुख्य कारण राजनीतिक अस्थिरता, आन्तरिक गतिविधिमा सुस्ती र अन्तर्राष्ट्रिय परिवेशको प्रभाव हो। विशेषगरी मध्यपूर्वमा जारी द्वन्द्वले पेट्रोलियम मूल्य, पर्यटन तथा विप्रेषणमा नकारात्मक असर पार्ने जोखिम अझै कायम रहेको उल्लेख गरिएको छ।
नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वा ले राजनीतिक स्थायित्व फर्किएमा अर्थतन्त्रमा सुधारको सम्भावना रहे पनि हालको अवस्था चुनौतीपूर्ण रहेको बताएका छन्। उनका अनुसार आन्तरिक माग कमजोर हुनु, लगानीमा अनिश्चितता र उपभोक्ता विश्वासमा कमी देखिनुले समग्र आर्थिक गतिविधि प्रभावित भएको छ।
यद्यपि, एडिबीले दीर्घकालीन सुधारको आशा भने छोडेको छैन। जलविद्युत् निर्यात, पर्यटन पुनरुत्थान र आन्तरिक माग विस्तारका कारण आर्थिक वर्ष २०२७ मा वृद्धि दर ५ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।
मुद्रास्फीति पनि नियन्त्रणमै रहने देखिएको छ। आर्थिक वर्ष २०२६ मा ३.७ प्रतिशत रहने अनुमान गरिएको उपभोक्ता मुद्रास्फीति दर २०२७ मा ४.५ प्रतिशत पुग्न सक्ने प्रक्षेपण छ। तर, इन्धन मूल्य वृद्धि र आयात खर्च बढ्दा चालु खाता बचतमा भने दबाब पर्ने देखिन्छ।
विशेषगरी विप्रेषण आप्रवाहमा कमी, पर्यटन क्षेत्रको सम्भावित गिरावट र आप्रवासनमा देखिन सक्ने अवरोधले आगामी वर्षहरूमा बाह्य क्षेत्र अस्थिर बन्न सक्ने संकेत गरिएको छ।
समग्रमा, एडिबीको प्रतिवेदनले नेपालको अर्थतन्त्र अहिले संक्रमणकालीन अवस्थामै रहेको देखाउँदै सुधारका लागि राजनीतिक स्थायित्व, नीतिगत स्पष्टता र बाह्य जोखिम व्यवस्थापन अपरिहार्य रहेको सन्देश दिएको छ।

प्रतिक्रिया