पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखक पक्राउ, ज्यानसम्बन्धी कसूरमा अनुसन्धान हुने !


काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई ज्यानसम्बन्धी कसूरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको जरुरी पक्राउ पुर्जीका आधारमा आज बिहान उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पुर्जीमा ‘ज्यानसम्बन्धी कसूरसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले यो पुर्जी जारी गरिएको’ उल्लेख गरिएको छ । लेखकका हकमा पनि सोही प्रकृतिको आरोप उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

बालेन्द्र शाह नेतृत्वको सरकारले जेन्जी आन्दोलनसम्बन्धी घटनाको जाँचबुझका लागि गठित गौरिबहादुर कार्की आयोग को सिफारिसअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेलगत्तै उक्त पक्राउ गरिएको हो । सुरक्षा संयन्त्रसम्बन्धी विषयमा भने थप अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरिएको छ ।

आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक तथा पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि लापरबाही तथा हेलचेक्र्याइँका कारण ज्यान गएको ठहर गर्दै कारबाही सिफारिस गरिएको छ ।

आयोगले मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ अनुसार कसूरमा अनुसन्धान तथा अभियोजन गर्न सिफारिस गरेको जनाएको छ ।