आज घोडेजात्रा पर्व : काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा


आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको जनविश्वास गरिन्छ ।

यही विश्वासमा हरेक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । आजराति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिने चलन छ ।

यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट कुनै पनि जोखिम नहुने परम्परागत मान्यता छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ ।

घोडेजात्राको अवसरमा सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । यस्तै आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । बालकुमारी ज्यापुटोलको भीमसेन गुठीले सञ्चालन गर्दै आएको पाटनको एकल घोडेजात्राका क्रममा एक जना गुठियार घोडामा चढेर बल्खु चिवहाः, गणेश मन्दिर हुँदै बालकुमारी मन्दिरको परिक्रमा गर्छन् ।

गणेश र बालकुमारी मन्दिरको तीन फन्का परिक्रमा गरेपछि पाटनको घोडेजात्रा सकिन्छ । स्थानीयबासिन्दाले सिमसिम राजा भनेर चिन्ने मल्लकालीन राजा शिवसिंह मल्लले नै पाटनको घोडेजात्रा शुरूआत गरेको मानिन्छ । 

यसैबीच काठमाण्डौको तारकेश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव गरिँदैछ । नगरपालिकाको आयोजनामा आज तारकेश्वर नगरपालिका–८ पिपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव गर्न लागिएको हो ।

नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार धर्म, संस्कृति, परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ घोडेजात्रा महोत्सव आयोजना गरिएको हो । आज टुँडिखेलमा हुने घोडेजात्रा पर्व हेर्न जान नसक्नेहरूका लागि तारकेश्वरको महोत्सव फलदायी हुने उहाँको विश्वास छ ।