नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले आइतबार महत्वपूर्ण निर्णय गरेको छ । बैठकले गत २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने तथा गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार मन्त्रिपरिषद्ले जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्नेगरी ग्रहण गर्ने निर्णय गरेको हो ।
‘२०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्नेगरी नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय गरेको छ,’ अर्यालले बताए।
जेनजी आन्दोलनसँग सम्बन्धित उक्त प्रतिवेदनबारे मन्त्रिपरिषद्मा आइतबार विस्तृत छलफल भएको थियो। तर उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन।
स्रोतका अनुसार प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ लगायतमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको उल्लेख छ। प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्नुपर्ने भन्दै विभिन्न पक्षबाट दबाब बढ्दै गएको छ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले गृहमन्त्री ओमप्रकाश अर्याल लाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।
हाल राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको पद रिक्त रहेकाले उक्त स्थानमा अर्याललाई मनोनीत गर्न सिफारिस गरिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

प्रतिक्रिया