मध्यपूर्व क्षेत्रमा जारी युद्ध झन् चर्किएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराह बन्दरगाहस्थित मध्यपूर्वकै ठूलो तेल भण्डारण केन्द्रमध्ये एकमा ड्रोन आक्रमण भएपछि त्यहाँका केही सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ ।
आक्रमणपछि उक्त क्षेत्रमा ठूलो धुवाँको मुस्लो उठेको दृश्य सार्वजनिक भएको छ । फुजैराह बन्दरगाह क्षेत्र विश्वका महत्वपूर्ण तेल आपूर्ति केन्द्रमध्ये एक मानिन्छ, जहाँबाट अन्तर्राष्ट्रिय बजारमा ठूलो मात्रामा तेल निर्यात हुने गर्दछ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानको मुख्य तेल टापु खार्ग (Kharg Island) मा रहेका सैन्य लक्ष्यहरूलाई अमेरिकी सेनाले “पूर्ण रूपमा ध्वस्त” बनाएको दाबी गरेका छन् । खार्ग टापु इरानको तेल निर्यातका लागि अत्यन्त महत्वपूर्ण केन्द्र मानिन्छ । अमेरिकी आक्रमणपछि इरानले कडा प्रतिक्रिया जनाउँदै यदि आफ्ना ऊर्जा पूर्वाधारमा थप हमला भए अमेरिकासँग सहकार्य गर्ने कम्पनीहरूको तेल तथा ऊर्जा संरचनालाई “राखको थुप्रोमा परिणत गरिने” चेतावनी दिएको छ।सुरक्षा विश्लेषकहरूका अनुसार उत्तरी खाडी क्षेत्रमा रहेको यो सानो तर महत्वपूर्ण टापुमा आक्रमण गर्नु इरानको आर्थिक नशामाथि प्रहार गरेजस्तै मानिन्छ ।
यसैबीच क्षेत्रीय तनाव अन्य देशहरूमा पनि फैलिएको छ। इराकको बगदादस्थित अमेरिकी दूतावासमा मिसाइल आक्रमण भएको छ भने लेबनानमा इजरायली हवाई आक्रमणमा कम्तीमा १२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको बताइएको छ। युद्ध सुरु भएको दुई साता पुग्दा मध्यपूर्वमा सैन्य गतिविधि, आक्रमण र प्रतिआक्रमण तीव्र रूपमा बढ्दै गएको देखिएको छ।
विश्लेषकहरूले यसले क्षेत्रीय मात्र नभई विश्वव्यापी ऊर्जा आपूर्ति र सुरक्षामा पनि ठूलो असर पार्न सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया