बीर अस्कापतालमा कार्डियोलोजी ओपीडीमा लामो समयदेखि देखिँदै आएको लाइन व्यवस्थापनको समस्या समाधानका लागि चिकित्सकको सानो पहलले सकारात्मक परिणाम देखाएको छ।
वीर अस्पतालका कार्डियोलोजिस्ट तथा Nepal Medical Council का उपाध्यक्ष डा. कुञ्जाङ शेर्पाले ओपीडीमा बिरामीहरूको भीड व्यवस्थापन गर्न साधारण नम्बर प्रणाली सुरु गरेपछि सेवा लिने प्रक्रिया व्यवस्थित बनेको हो।
डा. शेर्पाले आफ्नो फेसबुक वालमा कार्डियोलोजी ओपीडीमा दैनिक रूपमा लाइन व्यवस्थापन राम्रो नभएकाले बिरामीहरूमा असन्तुष्टि देखिएको भन्दै आफ्नो प्रयालाई उल्लेख गरेका छन्। उनका अनुसार कतिपय अवस्थामा अस्पतालमा बिरामीबीच झैझगडासमेत हुने गरेको थियो । यसबारे व्यवस्थापनलाई पटक–पटक जानकारी गराए पनि व्यवस्थित queue system नभएकाले समस्या समाधान हुन सकेको थिएन।
यसपछि डा. शेर्पाले व्यक्तिगत पहल गर्दै केरम बोर्डको गोटी किनेर त्यसमा नम्बर लेखी साधारण नम्बर प्रणाली तयार पारे। स्टाफका लागि छुट्टै नम्बर राखेर बिरामी व्यवस्थापन गरिएको थियो।
यो प्रणाली प्रयोगमा आएपछि ओपीडीमा सेवा लिन आएका बिरामीहरू व्यवस्थित रूपमा लाइनमा बसेर सहज रूपमा सेवा लिन सकेका थिए । अस्पतालको वातावरण शान्त, व्यवस्थित र मर्यादित देखिएको डा. शेर्पाले उल्लेख गरेका छन् । उनले सानो पहलले पनि ठूलो परिवर्तन सम्भव हुने उदाहरण यस घटनाले देखाएको उल्लेख गरे।
“परिवर्तनका लागि सधैं ठूलो स्रोत आवश्यक पर्दैन, कहिलेकाहीँ सानो पहल र सकारात्मक सोच नै पर्याप्त हुन्छ,” उनले भनेका छन् । डा. शेर्पाले अस्पताल व्यवस्थापन टोलीलाई सबै ओपीडीहरूमा व्यवस्थित queue system लागू गर्न आग्रह गर्दै यसले बिरामीहरूले अझ सहज, मर्यादित र सन्तोषजनक सेवा पाउने विश्वास व्यक्त गरे।
उनका अनुसार सुधारको यात्रा सधैं साना कदमबाट नै सुरु हुन्छ।

प्रतिक्रिया