नेकपा एमालेको जनसंगठन युवा संघ ओखलढुंगाका पूर्व अध्यक्ष लोकप्रिय सुनुवार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । एमालेको जिल्ला कमिटी सदस्य समेत रहेका युवा संघका पूर्वअध्यक्ष सुनुवार ओखलढुंगाबाट प्रतिनिधिसभाका उम्मेदवार अम्बिरबाबु गुरुङलाई समर्थन गर्दै नेकपामा प्रवेश गरेका हुन् ।
सुनुवारसहितका दर्जनौं नेताले एकै पटक एमाले त्यागेका छन् । राजधानीमा आयोजित चुनावी अभियान विशेष कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
युवा संघका अध्यक्ष विवेक तामाङले समेत गुरुङलाई जिताउने भन्दै पदबाट राजीनामा दिएर नेकपाको प्रचारमा लागेका छन् ।
तामाङले राजीनामा दिएपछि रिक्त रहेको पदमा एमालेले सुवास गुरुङलाई अघि सारेको छ ।
एमालेका प्रभावशाली नेता अम्बिरबाबु गुरुङले पार्टीमा विद्रोह गरेर नेकपाबाट प्रतिनिधिसभाबाट उम्मेदवार बनेपछि पार्टीको निर्वाचित जिल्ला कमिटीका पदाधिकारी, कतिपय पालिका कमिटी, युवा, विद्यार्थीका अध्यक्षसहितका जिम्मेवार पदाधिकारी र प्रभावशाली नेताहरु पार्टी त्यागेर गुरुङको पक्ष चुनावी अभियानमा जुटेका छन् ।

प्रतिक्रिया