जिरीमा चुनाव केन्द्रित सम्पर्क कार्यालय स्थापना


नेकपा एमाले जिरी नगर कमिटी, दोलखाले जिरीमा प्रतिनिधि सभा निर्वाचन केन्द्रित नयाँ सम्पर्क कार्यालय स्थापना गरेको छ। आईतबार कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा जिरी नगरपालिका पूर्व मेयर तथा नेकपा एमाले बाग्मती प्रदेश सदस्य टंक जिरेल, दोलखा जिल्ला कमिटी सदस्यहरू केशव कुमार कार्की, भुमिराज खड्का, नगर कमिटी अध्यक्ष टपिन्द्र खड्का, सचिव लुकछिरी शेर्पा तथा एमाले नेता पदेमान जिरेल, मकर तामाङ लगायत सहभागी रहेको युवा संघ, शिक्षा, विज्ञान तथा प्रविधि विभाग सदस्य विशाल काफ्ले खत्रीले जानकारी दिए ।

यसैबिच राष्ट्रिय युवा संघ दोलखा संयोजक सुरज खड्काले आगामी निर्वाचनमा दोलखामा एमालेको जित सुनिश्चित रहेको दाबी गरेका छन् । उनले भने, “दोलखा मात्र नभएर देश नै एमालेमय छ। देश बनाउनेको जित भनेको नेपाली जनताको जित हो।”

नेकपा एमाले जिरी नगर कमिटीले सम्पर्क कार्यालय उद्घाटनसँगै संगठन विस्तार र आगामी राजनीतिक गतिविधिलाई अझ प्रभावकारी बनाउने जनाएको छ।