नेपाल शेर्पा संघ, संघीय कार्यसमितिको आयोजनामा लोसार शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । मे फो त ल्हो २१५३ औं ग्याल्पो लोसारको अवसरमा शुभकामना आदनप्रदानका साथमा छ्योङयुलपान तथा सल्लाहकारहरुलाई स्वागत कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रममा पूर्व अध्यक्षहरु, मानार्थ सदस्य र सल्लाहकारहरुलाई प्रमाणपत्र प्रदान गरेको अध्यक्ष लाक्पा ठिन्ले शेर्पाले जानकारी दिनुभयो । सोही अवसरमा नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित मुटुरोग विशेषज्ञ डा. कुञ्जाङ शेर्पा र सिक्कीम सरकार मुख्यमन्त्रीका सल्लाहकार साङ्गे शेर्पालाई सम्मान गरेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासीहरुको परम्परागत ज्ञानबाट उत्पादन भएका बस्तुहरुलाई सरकारले नियन्त्रण गर्न खोज्नु संविधान र वर्तमान व्यवस्थाको वर्खिलापमा भएकाले तत्काल सच्याउनुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री आङ छिरिङ लामा शेर्पाले विश्वले शेर्पा जातिलाई चिनेपनि नेपाल सरकारले वेवस्ता गरेको भन्दै आक्रोश पोख्नुभयो । उहाँले आदिवासीहरुले नेतृत्व नलिएसम्म मुलुकले निकास नपाउने दाबी समेत गर्नुभयो । त्यस्तै, बागमती प्रदेश सदस्य याङकीला शेर्पाले पर्यटन प्रबद्र्धनमा शेर्पा समुदायले खेलेको भूमिकाको चर्चा गर्नुभयो । उहाँले प्रदेश नं. १, मा शेर्पा जातिको बाहुल्यता रहेकाले सरकारी कामकाजको भाषाको रुपमा शेर्पा भाषा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
नेफिनका महासचिव दिवस राईले आदिवासी संस्कृति, सभ्यता र इतिहासलाई जिवन्त राख्न लोसार जस्ता चाडपर्वले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले आदिवासीको कोटाबाट राज्यको सेवासुविधा लिनेहरुले आदिवासीकै आवाज बुलन्द गर्नुपर्नेमा दलको ह्वीपको पछि लाग्दा मूलधारमा आवाज पुग्न नसकेको दाबी गर्नुभयो ।
कार्यक्रममा शेर्पा संस्कृतिमा आधारित श्याब्रु, शिली, टुंग्नासहितको नृत्य प्रस्तुत गरेका थिए ।









प्रतिक्रिया