नेपाली चलचित्र क्षेत्र आज एक गहिरो शोकमा डुबेको छ। सशक्त अभिनय, दमदार संवाद र छुट्टै पहिचान बनाएका वरिष्ठ कलाकार सुनील थापा अब हामीबीच रहेनन् ।
हृदयाघात भएपछि आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुर्याइएका थापाको अस्पताल पुग्नुअगावै निधन भएको नर्भिक प्रशासनले जनाएको छ। उनको निधनसँगै नेपाली सिनेमाले दशकौँदेखि दर्शकको स्मृतिमा बसेको एक प्रभावशाली पात्र गुमाएको छ।
चलचित्र मसालबाट फिल्म यात्रा थालेका थापा, चलचित्र चिनो को ‘राते काइला’ पात्रमार्फत नेपाली सिनेमाको इतिहासमै अमर बने। उनका अभिनयले खलनायक मात्र होइन, समाजका कठोर यथार्थलाई पनि पर्दामा जीवन्त बनाएको थियो। कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार थापाको परिवार हाल नेपाल बाहिर रहेकोले औपचारिक घोषणा तथा श्रद्धाञ्जली कार्यक्रम केही समयपछि मात्र तय गरिनेछ ।
श्रीमती र छोरा मुम्बईबाट नेपाल फर्किएपछि अन्तिम संस्कार र अन्य कार्यक्रमको टुंगो लाग्नेछ। पर्दामा कठोर देखिने सुनील थापा, वास्तविक जीवनमा भने सरल र अनुशासित कलाकारका रूपमा चिनिन्थे । उनको निधनले नेपाली चलचित्र उद्योगमा सिर्जिएको खालीपन लामो समयसम्म महसुस गरिनेछ ।
नेपाली कला क्षेत्रका लागि यो केवल एक व्यक्तिको निधन होइन, एउटा युगको अवसान हो।

प्रतिक्रिया