एमाले जिताउने अभियानमा दोलखामा युवा संघ सक्रिय


निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय युवा संघ नेपाल, दोलखा जिल्लाले युवालाई केन्द्रमा राखेर चुनावी रणनीति तय गरेको छ।

चुनाव केन्द्रित युवा संघ दोलखाको बैठकले संगठन सुदृढीकरण, युवा परिचालन र प्रचार–प्रसारलाई तीव्र बनाउने निर्णय गरेको छ। सुरज खड्काको संयोजकत्वमा सम्पन्न भएको बैठकमा प्रमुख अतिथि नेकपा (एमाले) बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भरत ब. के.सी. थिए। मन्त्री के.सी.ले निर्वाचनमा युवाको भूमिका निर्णायक हुने उल्लेख गर्दै पार्टीको पक्षमा संगठित रूपमा सक्रिय हुन निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरू सरोज बस्नेत र सुजन श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि विभाग सदस्य विशाल काफ्ले खत्री तथा नेशनल भोलुन्टियर फोर्सका केन्द्रीय सदस्यहरू भुवन गुरुङ र सोम मोक्तानले आफ्ना धारणा राखेका थिए। बैठकमा दोलखा जिल्लामा नेकपा (एमाले) लाई विजयी गराउने उद्देश्यसहित ठोस निर्वाचन रणनीति तय गरिएको बताइएको छ।

यसै अवसरमा चुनावी युवा परिचालन कमिटी जिल्ला संयोजक सुरज खड्काको नेतृत्वमा ५०१ सदस्यीय कमिटी र प्रचार–प्रसारका लागि मिलन खड्काको संयोजकत्वमा ३५१ सदस्यीय कमिटी गठन गरिएको छ।