ओखलढुंगा एमालेमा विद्रोहको लहरः माेलुङमा पालिका अध्यक्षसहित दर्जनाैं नेता नेकपा प्रवेश


ओखलढुंगा एमालेमा विद्रोहको लहर चलेको छ । एमालेका प्रभावशाली नेता अम्बिरबाबु गुरुङ नेकपाबाट प्रतिनिधिसभाको उम्मेदवार भएपछि नेता कार्यकर्ताले पार्टी नै परित्याग गरेर गुरुङलाई समर्थन गर्न थालेका हुन् ।

यसअघि एमालेको जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवले पदबाट राजिनामा दिएर गुरुको पक्षमा चुनावी अभियान सुरु गरिसकेका थिए । सोमबार एमाले जिल्ला कमिटीका लेखा आयोग अध्यक्ष मोहन ढकाल, मोलुङ गाउँपालिका कमिटी अध्यक्ष तोया काफ्ले, मोलुङ एमालेका प्रभावशाली नेताहरु सन्जय खत्री, सुमन दाहाल र एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका नेताहरु कमल बानिया र कमल तामाङ, गाउँ कार्यपालिका सदस्य भक्तबहादुर सुनुवार र धिरज नौभाज सहितका नेता कार्यकर्ता एमाले परित्याग गरेर नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका हुन् ।

जिल्लाको विकासमा योगदान गरेका र जिल्लाबासी मतदाताले समेत माग गरिरहेका गुरुङलाई सर्वसम्मत उम्मेदवार बनाउनुपर्ने माग गरिएको भएपनि पार्टी केन्द्रले जिल्लाको सिफारिस बेगरको व्यक्तिलाई टिकट दिएर पठाएकाले पार्टीमा विद्रोह गर्नुपरेको मोलुङ गाउँपालिका कमिटी अध्यक्ष परित्याग गरि नेकपामा प्रवेश गरेका नेता तोया काफ्लेले बताए । ‘नेकपा एमालेको विस्तारित बैठकमा उम्मेदवार सिफारिस गर्दा पनि अम्बिर गुरुङ नै हुनुपर्छ भनेको हो । जिल्लाको राजनीति नबुझि केपी ओलीले खल्तिको मान्छे पठाए त्यो स्विकार्न सकिएन । विकासवादी पहिचान बनाएका नेतालाई हराएर चाकडीको भरमा चल्नेलाई जिताउन योगदान गर्न सकिएन त्यसैले पार्टी परित्याग गरियो ।’ काफ्लेले भने, ‘विकास निर्माणमा होस् वा सामाजिक काममा अम्बिरबाबुको जति योगदान गर्न सक्ने नेता यो जिल्लामै कोही छैन । १ पटक उहाँलाई जिताएर जन्मभूमीको विकासमा सारा ओखलढुंगेले योगदान गर्नुपर्छ ।’ काफ्लेले एमाले परित्याग गरेर १०३ जना नेकपामा प्रवेश गरेकाे जानकारी दिए । एमाले परित्याग गरेर आफ्नो पक्षमा उभिने नेता कार्यकर्तालाई प्रतिनिधिसभाका उम्मेदवार अम्बिरबाबु गुरुङ र नेकपाका नेताहरु बाबुराम गौतम, नेत्र भट्टराई लगायतले नेकपामा प्रवेश गराएका छन् ।

नव प्रवेशीहरुलाई स्वागत गर्दै गुरुङले ओखलढुंगा एमालेमा आफुलाई माया गर्नेहरु धेरै भएकाले चुनावमा एमालेकै नेता कार्यकर्ताको दर्विलो साथ पाउने दावी गरेका छन् । ‘यो मेरो उम्मेदवारीमा एमाले भित्रहरु अग्रज एवम् सहयोद्धा साथीहरुको पनि उत्तिकै साथ पाउने आशा राखेको छु । मैले लामो समय त्यो पार्टीमा योगदान गरेको छु त्यो कुरा जिल्ला तहमा सबै इमान्दार नेता कार्यकर्तालाई थाहा छ । उहाँहरुले यस पटक मलाई नै मतदान गर्नुहुन्छ ।’ गुरुङले भने, ‘जेन्जीको हत्या पछि मैले केपी ओलीको समर्थन गर्न छाडेको हुँ । नेतृत्व हस्तान्तरणका पक्षमा उभिएको हुँ । त्यसैले मलाई रोक्न खोजियो ।’ गुरुङले जिल्लामा नेकपा एमालेका अझै धेरै नेता कार्यकर्ता नेकपामा प्रवेश गर्ने र एमालेमै रहनेले पनि तारामा मतदान गर्ने र अरुलाई पनि मतदानका लागि अपिल गर्ने दावी गरेका छन् ।

एमाले जिल्ला कमिटीका पदाधिकारी सबै नेकपामा प्रवेश गरेपछि प्रतिनिधिसभाका उम्मेदवार अस्मिता थापा र थापाका प्रस्तावक पार्टी केन्द्रीय सदस्य यज्ञराज सुनुवारले पार्टी छाड्नेलाई १ / १ भोट भएका भगौडाको संज्ञा दिँदै केही व्यक्तिले नस्विकारे पनि एमालेको जित हुने दावी गर्दै आएका छन् ।

मोलुङ केन्द्रीय सदस्य यज्ञराज सुनुवारको पालिका हो ।

उम्मेदवार र प्रस्तावककै दम्भका कारण पनि एमालेका कार्यकर्ताहरु खुलेर अम्बिर गुरुङको पक्षमा लाग्न थालेको एमालेको जिल्ला कमिटी सचिव परित्याग गरी नेकपामा प्रवेश गरेका  नेता अशोक थापाले बताए । 

एमालेबाट टिकट नपाएपछि नेकपाको तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा होम्मिएका पूर्व मन्त्री अम्बिरबाबु गुरुङलाई जसपा नेपालले कार्यगत एकता गरेरै दर्विलो साथ दिइरहेको छ । नेकपाका नेता कार्यकर्ता पनि उत्साहित भएर लागेका छन् । एमालेका नेताहरु पनि गुरुङको पक्षमा खुल्न थालेका छन् ।

नेकपाका गुरुङको विकासवादी छवि र पछिल्लो केही दिनमा उनका पक्षमा बढेको माहोलले मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेसलाई आफ्नै मत जोगाउन चुनौती छ ।

प्रदेशसभा सदस्य र प्रदेशको भौतिक पूर्वाधार मन्त्री भइसकेका गुरुङ जिल्लामा कामले चिनिएका नेता हुन् ।