पानी पार्ने प्रणाली बाहिरियो, हिउँदे वर्षाले किसान उत्साहित


अस्ति मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ । आज उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा सामान्य वर्षा र हिमपात भए पनि धेरै ठाउँको मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । मधेश र कोशी प्रदेशबाहेक अरु ठाउँमा वर्षा र हिमपात भएको छ । पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । बागमती प्रदेशसहित पश्चिमका धेरै जिल्लामा पानी परेको र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको महाशाखाले जनाएको छ ।

आज बिहान तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । काठमाण्डौका केही ठाउँमा पनि बिहानपख कुहिरो लागेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाँउमा वर्षा र हिमपातको सम्भावना छ ।

लामो खडेरीपछि हिउँदे वर्षा भएसँगै किसानहरू उत्साहित भएका छन् । कृषि विज्ञहरुका अनुसार यो बेलाको वर्षा हिउँदे बालीका लागि ‘अमृत’ सरह हुन्छ । हिउँदे वर्षापछि फलफूल तथा बोटबिरुवामा नयाँ पालुवा पलाउने र त्यसले आगामी वर्ष उत्पादन बढाउन मद्दत पुग्छ । यस्तै वर्षासँगै हिमाली क्षेत्रमा भएको हिमपातले स्याउलगायतका खाद्य तथा नगदेबालीको उत्पादन बढाउन मद्दत पुग्ने भएकाले किसान उत्साहित भएका छन् ।