भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता



भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल सरकारले पनि उच्च सतर्कता अपनाउन थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण हवाई तथा स्थल नाकाबाट भित्रिने यात्रुको निगरानी शुरू गरेको हो ।

मन्त्रालयको हेल्थ डेस्कमार्फत सङ्क्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी भइरहेको प्रवक्ता डा।प्रकाश बुढाथोकीले जानकारी दिए । निपाह भाइरस चमेरो, सुँगुर वा सङ्क्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखि रोकथामका उपाय अपनाइएको छ ।

मन्त्रालयले सङ्क्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वरेण्टीनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान सबैमा अपील गरेको छ । निपाह घातक जुनोटिक भाइरस हो जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्छ ।

यो मुख्यतः फलफूल खाने चमेरोबाट मानिसमा सर्छ । दूषित खाना वा मानिस–मानिसबीच प्रत्यक्ष सम्पर्कमार्फत पनि संक्रमण फैलिन सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले जनाएको छ। यही उच्च जोखिमका कारण (डब्ल्युएचओ) ले निपाह भाइरसलाई कोभिड–१९ र जिकाजस्ता रोगहरूसँगै सम्भावित महामारी फैलाउन सक्ने शीर्ष १० प्राथमिक रोगमध्ये राखेको छ ।


निपाह भाइरस पहिलो पटक सन् १९९८ मा मलेसियामा सुँगुर किसानहरूमा देखिएको थियो, जुन पछि सिंगापुरसम्म फैलिएको थियो । उक्त प्रकोपमा १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो र संक्रमण नियन्त्रण गर्न करिब १० लाख सुँगुर नष्ट गर्नुपरेको थियो । त्यसयता बंगलादेशमा सन् २००१ देखि हालसम्म १०० भन्दा बढी मानिसको ज्यान गएको छ। भारतमा पनि पश्चिम बंगालमा २००१ र २००७ मा निपाहका प्रकोप देखिएका थिए भने पछिल्ला वर्षहरूमा केरलामा यसले गम्भीर रूप लिँदै आएको छ।

नेपालमा अहिलेसम्म निपाहको कुनै सङ्क्रमण पुष्टि भएको छैन । तर भारतको पश्चिम बङ्गालसँगको खुला सीमा र फ्रुट ब्याटको उपस्थितिले जोखिम बढाएको छ ।

इपिडेमियोलजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पतालहरूलाई निपाहजस्ता लक्षण भएका बिरामी र अचानक मृत्युका घटना रिपोर्ट गर्न निर्देशन दिएको छ ।

सङ्क्रमण भएमा शुरूमा ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुन्छ । पछि मस्तिष्क सुन्निने समस्याले ज्यान जान सक्छ ।

रोकथामका लागि काँचो खजुरको रस नपिउन, चमेरोले टोकेका फलफूल नखान, सङ्क्रमितसँग सम्पर्क भएमा तुरुन्तै स्वास्थ्य जाँच गराउन र हात धुने, मास्क लगाउनेजस्ता सामान्य सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।