प्रधानमन्त्रीका दाबेदारबीच सार्वजनिक बहस गर्ने ओलीको प्रस्ताव बालेनद्वारा अस्वीकार


नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका दाबेदारबीच ‘पब्लिक डिबेट’ अर्थात् सार्वजनिक बहसका लागि गरेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले अस्वीकार गर्नुभएको छ ।

आज बिहान ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक रहेको बताउनुभएको थियो । साथै उहाँले आफू र आफ्नो पार्टी एमाले यसका लागि तयार रहेको उल्लेख गर्नुभएको छ ।

ओलीको फेसबुक स्ट्याटसमै प्रतिक्रिया जनाउँदै बालेनले तत्काल सार्वजनिक बहसमा सहभागी नहुने सङ्केत गर्नुभएको छ । उहाँले गएको भदौ २३ र २४ गतेको आन्दोलनलाई जोडेर ‘अरू कुरा पछि गरौँला अहिले एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ’ उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्रीको दाबेदारका रूपमा दलहरुबाट अघि सारिएका एमाले अध्यक्ष ओली, कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालेन शाहलगायतलाई ‘पब्लिक डिबेट’ गर्नुपर्ने माग अहिले सामाजिक सञ्जालमा चलेको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको सरगर्मी बढेका बेला प्रधानमन्त्रीका दाबेदारबीच एजेण्डाबारेमा सार्वजनिक बहसको विषय उठेको हो ।