एमाले ओखलढुङ्गामा कटुवाल पुनः सक्रिय


नेकपा (एमाले) ओखलढुंगाका पूर्व जिल्ला अध्यक्ष शङ्कर कटुवालले पुनः पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गर्नुभएको छ। पार्टीभित्र देखिएको आन्तरिक संकट, निर्वाचनको संवेदनशील अवस्था र नेतृत्वमाथि भइरहेको चौतर्फी आक्रमणका बीच जिम्मेवार कार्यकर्ताको हैसियतले चुप लागेर बस्न नसक्ने भन्दै उहाँ पुनः पार्टी काममा फर्किनुभएको हो।

कटुवालले २०४३ सालदेखि तत्कालीन नेकपा (माले) को विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरी २०४७ सालपछि पार्टीका विभिन्न मोर्चामा जिम्मेवारी सम्हाल्दै नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगाको अध्यक्षसम्मको भूमिका निर्वाह गरेको तथ्य स्मरण गराउनुभएको छ। उहाँका अनुसार पार्टीभित्र मौलाउँदै गएको विकृति–विसङ्गति, अवसरवादी र हैकमवादी प्रवृत्ति, कार्यशैली तथा व्यवहारका कारण जिल्लामा पार्टी संगठन कमजोर बन्दै गएको थियो।

‘सकसपूर्ण अवस्थामा पार्टी काम गर्नुपर्ने बाध्यता थियो,’ कटुवालले उल्लेख गर्नुभएको छ, ‘तर जिल्ला अधिवेशनको क्रममा अध्यक्षको हैसियतले प्रयोग गर्न पाउने अधिकारसमेत कुण्ठित गरिँदै दबाब, आदेश र आरोप–प्रत्यारोपमार्फत काम गर्न नसक्ने निरीह अवस्थामा पुर्‍याइयो।’ उहाँले जिल्ला कमिटीको १०औँ अधिवेशनमा आफू न उम्मेदवार बनेको न कुनै पदको बार्गेनिङ गरेको स्पष्ट पार्दै नेतृत्व हस्तान्तरणको तयारीमै रहेको अवस्थामा त्यस्ता गतिविधि सुरु भएपछि जिल्ला कमिटीबाट राजीनामा दिएर निष्क्रिय बस्नुपरेको बताउनुभयो।

तर देश निर्वाचनमा होमिएको, पार्टी र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको र यस्ता बेला ‘रक्षाकवच’ बन्नुपर्ने नेतृत्वबाटै पार्टीलाई घात भएको अनुभूति भएपछि जिम्मेवार सदस्यको नाताले पुनः सक्रिय हुने निर्णयमा पुगेको उहाँको भनाइ छ। ‘टुलुटुलु हेरेर बस्न सकिन,’ कटुवालले भन्नुभएको छ, ‘पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने निष्कर्षमा पुगेको ब्यहोरा सबैमा निवेदन गर्दछु।’

पुनः सक्रियताको घोषणासँगै कटुवालले नेकपा एमाले ओखलढुंगाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक तथा जिल्लावासी मतदातालाई एकढिक्का भएर वर्तमान चुनौतीको सामना गर्न आह्वान गर्नुभएको छ। उहाँले पार्टीका उम्मेदवार अस्मिता थापालाई सूर्य चिन्हमा मतदान गर्न र गराउन आग्रह गर्नुभएको छ।

साथै उहाँले पार्टीभित्र र चुनावी अभियानका क्रममा आरोप–प्रत्यारोप, गाली–गलौज तथा अराजनीतिक र असहिष्णु शैलीको प्रयोग नगर्न अनुरोध गर्नुभएको छ। ‘राजनीतिक शैलीको प्रयोग गरौँ,’ उहाँले सबैमा आग्रह गर्नुभएको छ।

कटुवालले हाल आफू बुवाको उपचारका सिलसिलामा काठमाडौंमा रहेको जानकारी दिँदै जिल्ला फर्किएपछि पार्टी तथा निर्वाचन परिचालनको काममा सहकर्मीहरूसँग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको पुनः सक्रियतासँगै ओखलढुंगामा एमालेको आन्तरिक शक्ति सन्तुलन र चुनावी अभियान थप सशक्त हुने अपेक्षा गरिएको छ।