नेकपा एमालेबाट विद्रोह गरेर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका अम्बिबाबु गुरुङलाई जसपा नेपालले समर्थन जनाएको छ । खिजीदेम्बा गाउँपालिकामा ३ वडाअध्यक्ष र पालिका अध्यक्षसमेत जितेको जसपा नेपालले तारा चुनाव चिन्ह लिएर उठेका गुरुङलाई सघाउने भएको हो ।
ओखलढुंगाको समग्र विकासमा योगदान गरेका र आगामी दिनमा समृद्धिको अभियानलाई थप संस्थागत गर्न भिजन भएको उम्मेदवारलाई समर्थन गरिएको जसपा नेपालका नेता एवम् खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले बताए । ‘यस पटक विकासवादी नेतालाई जिताउने हो, त्यसैले हामीले अम्बिरबाबु गुरुङलाई साथ दिएका हौं ।’ शेर्पाले भने, ‘ अम्बिर गुरुङ नै निश्वार्थ भावले जनताको पक्षमा र विकासको अभियानमा खट्ने नेता हो भन्ने यसअघि नै पुष्टि भईसकेको छ । यसअघि उहाँले हार्दा जिल्लाको विकासले हारेको तथ्य हामीसँग छर्लङ्गै छ त्यसैले यसपटक पार्टी र साथी भन्दा माथी उठेर तारामा मतदान गरि जिल्लाको विकासमा मतदाताहरुले योगदान गर्ने छन् ।’ अध्यक्ष शेर्पा र जसपाका अर्का नेता खेमराज खड्कासहितका नेताहरु गुरुङको उम्मेदवारीमा सुरु देखिनै कार्यगत एकता गरेर लागेका छन् ।

ओखलढुंगाको खिजीदेम्बा, मानेभञ्ज्याङ, मोलुङ, सिद्धिचरण र चिशंखुगढीसहित सबै पालिकामा जसपाको संगठन छ ।
जसपाका नेताहरु गुरुङलाई जिताउन चुनावी अभियानमै जोडिने भएका छन् ।

एमालेभित्र जिल्लामा बर्चस्व कायम गरेका गुरुङ कार्यकताको माग र जिल्लाको सिफारिस अनुसार पार्टी केन्द्रले टिकट नदिएपछि नेकपाको तारा चिन्ह लिएर चुनावी मैदानमा छन् । उनको उम्मेदवारीले ओखलढुंगाको चुनावी सरगर्मी बढेको छ ।
गुरुङ यसअघि ५ वर्ष प्रदेशसभाको सांसद र केही समय मन्त्री हुँदा जिल्लामा १० अर्व भन्दा बढी विकास बजेट ल्याएर चर्चामा आएका नेता हुन् ।

प्रतिक्रिया