बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको अवधिमा आठ दशमलव ९९ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले गएको साउनदेखि पुसमसान्त सम्ममा कूल बजेटको झन्डै १४ दशमलव १० प्रतिशत खर्च गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २ दशमलव १७ प्रतिशत कम खर्च भएको हो । आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा प्रदेश सरकारले कूल बजेटको १६ दशमलव २७ प्रतिशत बजेट खर्च गरेको थियो ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत केशव भण्डारीका अनुसार चालू वर्षको ६ महिनाको अवधिमा प्रदेश सरकारले चालूतर्फ २२ दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ आठ दशमलव ९९ प्रतिशत बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएकोमा ६ महिना सकिँदा नौ अर्ब ५८ करोड चार लाख ४५ हजार बजेट खर्च भएको छ ।
गएको भदौ २३ र २४ मा भएको नवयुवाको आन्दोलनका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वयन हुन सक्दा प्रदेश सरकारको खर्च कम देखिएको अधिकृत भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया