नेपाली कांग्रेसबीचको आन्तरिक द्वन्द्व चर्किँदै गएको छ। विशेष महाधिवेशन र संस्थापन पक्षबीच विभिन्न चरणमा वार्ता भएपनि कुनै निष्कर्षमा पुग्न नसकेको हो।
दुवै पक्षका दोस्रो तहका नेताहरूले पार्टी एकतामा जोड दिएपनि कांग्रेस सभापति शेरबहादुर देउवासहितका संस्थापन पक्ष र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित महाधिवेशन पक्षधरले उठाएका एजेण्डामा सहमति नहुँदा कांग्रेस फुटको संघारमा पुगेको हो।
विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया अघि बढाएको र हालसम्म सहमति नभएपछि विभाजन रोक्ने प्रयासका लागि सभापति देउवाले महामन्त्रीद्वयलाई छलफलमा लागि बोलाएका छन्। तर यो समाचारसम्म महामन्त्रीद्वय थापा र शर्मा देउवा निवासमा नपुगेको कांग्रेस नेता गुरु घिमिरेले जानकारी दिए। घिमिरेले भने,‘अन्तिम प्रयासस्वरुप महामन्त्री र सभापतिबीचको छलफलपश्चात सहमति भए एकता हुन्छ। नत्र अब निर्वाचन प्रक्रिया र नयाँ नेतृत्व चयनलाई रोक्न सकिने अवस्था छैन। एकता हुने जस्तो देखिदैन।’
उनले १५ औं महाधिवेशनसम्म अन्तरिम नेतृत्वमार्फत निर्वाचनमा जानुपर्ने विषय आफूहरुले उठाएको बताए। घिमिरेले बाहिर मिडियामा आएजस्तो सांसदको टिकटमा आफूहरुले भाग नखोजेको दाबी गरे। उनले भने,‘हामीले अन्तरिम नेतृत्व बनाएर निर्वाचनमा जाऔं भनेको हो। हामीले सांसदको सिटमा प्रतिशत मागेका छैन। ४० प्रतिशत माग्यो भने भ्रममात्र फैलाइएको छ, न्यायोचित स्थान दिनुपर्छ भन्ने कुरा हाम्रो हो।’
उनीहरुले सबैको सहमतिमा संसदीय बोर्ड बनाएर टिकट वितरण गर्नुपर्ने माग गरेका छन्। विशेष महाधिवेशन पक्षधरले एमालेलगायतका दलसँग चुनावी गठबन्धन गर्न नहुनेमा जोड दिएका छन्। उनले प्रतिनिधि सभाको आउँदो निर्वाचनमा देउवाले लड्न भन्ने प्रस्ताव पनि राखेको बताए।
यता संस्थापन पक्षले भने सेरेमोनियल सभापतिको रुपमा भएपनि देउवा राख्नुपर्ने जवाफ दिएको छ। आगामी महाधिवेशन वैशाखमा हुने भएकाले आमनिर्वाचनमा एकताबद्ध भएर अगाडि बढ्ने यो बिचमा कुनै राजनीतिक चलखेल नगर्ने तर्क गरेको छ। अन्य दलसँग गठबन्धन नगर्ने कुरामा भने सहमत छन्।
संस्थापन पक्षले पनि विशेष महाधिवेशन पक्षधरसँग महाधिवेशन प्रतिनिधिको बहुमत नरहेको दाबी गर्दै सबै माग पूरा गर्न आवश्यक नभएको बताउँदै आएको छ।

प्रतिक्रिया