हाम्रो कारणले पार्टी फुट्दैन : प्रवक्ता महत


नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई एकताबद्ध बनाएर लैजान संस्थापन पक्ष प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार पार्टीको केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेतृत्वको कारणले पार्टी विभाजन नहुने स्पष्ट पारेका हुन्। 

संस्थापन पक्षले पार्टीको एकता जोगाउन निकै लचकताका साथ संवाद गरिरहेको उल्लेख गर्दै उनले अहिलेको परिस्थितिमा पार्टी फुट्नु कसैको हितमा नभएको जिकिर गरे। प्रवक्ता महतले काठमाडौंमा जारी विशेष महाधिवेशन पक्षधरको गतिविधिप्रति टिप्पणी गर्दै यो पार्टी, मुलुक र जनताको हितमा नरहेको दाबी गरे। 

पार्टी विभाजनले लोकतन्त्र र राष्ट्रिय राजनीतिमा नकारात्मक असर पार्ने भएकाले आफूहरूले हरसम्भव एकताको प्रयास गरिरहेको उनले बताए। ‘हाम्रो कारणले पार्टी फुट्दैन, हामी एकदमै लचकताका साथ संवाद गरेर पार्टीलाई एकजुट बनाउन कोसिस गरिरहेका छौँ,’ उनले भने।

उनले पार्टी एकता जोगाउनका लागि विशेष महाधिवेशन पक्षधरलाई पनि उत्तिकै लचकता अपनाउन अपिल गरे। एकपक्षीय ढङ्गले अघि बढ्नुभन्दा वार्ता र सहमतिबाटै सबै समस्याको समाधान खोज्नुपर्नेमा उनले जोड दिए। नेतृत्वले कार्यकर्ताको भावना बुझेरै अघि बढिरहेको दाबी गर्दै उनले असन्तुष्ट पक्षलाई संवादको टेबुलमा आउन पुनः आग्रह गरे।