पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्नू : कांग्रेस कार्यवाहक सभापति खड्का


नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा एकताका साथ अगाडि बढ्न सबैलाई आग्रह गर्नुभएको छ ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा भृकुटीमण्डमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको परिस्थितिमा उहाँले विज्ञप्ति निकालेर पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्नसमेत आग्रह गर्नुभएको हो ।

कार्यवाहक सभापति खड्काले देशको विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको उल्लेख गर्नुभएको छ । कांग्रेसले देशमा विषम परिस्थिति उत्पन्न भएका विभिन्न कालखण्डमा परिस्थितिको सही मूल्याङ्कन गरि आफ्नो नेतृत्वमा उचित निकास दिएको इतिहास रहेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।