गृहमन्त्री रमेश लेखकले तीन दिनभित्र बाढी पहिरो पिडितलाई मुल्याङ्कनका आधारमा राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको जानकारी दिएका छन् ।
ललितपुरको गोदावरीमा बाढीपहिरो प्रभावित क्षेत्रका निरिक्षणमा निस्किएका मन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला सुरक्षा समितिलाई पिडितहरुको विवरण तत्कालै संकलन गरी पठाउन निर्देशन दिएका छन् ।
उनले पीडित घाइतेको निःशुल्क उपचार भइरहेको जनाउँदै सोको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताए । गृहमन्त्री लेखकले आईतबार सुरक्षा समितिसँगको बैठकमा राहत उद्धार तथा भौतिक क्षतिका बारेमा जानकारी लिएका थिए ।
यसैक्रममा उनले पहिरोले क्षति पुर्याएको लेलेको आनन्दवन अस्पताल क्षेत्रको पनि निरीक्षण गरे । अस्पताल परिसरमा गएको पहिरोमा परी ३२ वर्षदेखि अस्पतालको रिसर्च टेक्निकल अफिसरमा कार्यरत विवेक सिंहको मृत्यु भएको थियो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले हालसम्म ३९ जना मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले घरमै पुगेर रकम प्रदान गरिएको जानकारी गृहमन्त्री लेखकलाई गराएका थिए । उनले बाँकी मृतकका परिवारलाई रकम उपलब्ध गराउने विषयमा समन्वय भइरहेकाले तत्काल उपलब्ध गराइने जानकारी गराए ।
प्रतिक्रिया