पानी अभावले काकाकुल बनेको रामेछापको भलुवाजोरस्थित कालिका माध्यमिक विद्यालयको पठनपाठन पानीकै अभावले प्रभावित बनेको छ । वि.स. २०११ सालमा स्थापना भएको यो विद्यालयमा हालसम्म पानीको व्यवस्था नहुँदा पठनपाठन प्रभावित बनेको हो ।
कक्षा १० सम्म सञ्चालनमा रहेको कालिका माविमा अहिले १ सय भन्दाबढी विद्यार्थी अध्ययनरत छन् ।
करिब १ घण्टाको पैदलयात्रा गरेर विद्यालय पुगेका विद्यार्थीहरुलाई पिउने पानीको समेत व्यवस्था छैन । पानी अभावकै कारण विद्यालयका शौचालयहरु प्रयोग विहिन छन् ।
यो विद्यालयका शिक्षक र विद्यार्थीलाई शौच गर्न जंगल जानुपर्ने बाध्यता छ ।
विद्यालय आसपासको खुला क्षेत्र फोहोरका कारण प्रदुषित बनेको छ ।
खुला ठाउँमा गएर दिसा पिसाव गरेपछि पानी नहुँदा हात धुने, सरसफाई गर्ने पानी छैन ।
विद्यालयका कार्यालय सहयोगी कृष्णप्रसाद घिमिरेले करिब १ घण्टा टाढाको कार्की पँधेरोपँधेरोबाट बोकेर ल्याएको पानी विद्यार्थीलाई पिउनका लागि उपलब्ध गराउने गरेको भएपनि त्यो पर्याप्त छैन । कुनै कुनै समयमा थोरै पानी उपलब्ध गराउने गरिएकाले विद्यार्थीले तिर्खाएका बेलामा शुद्ध पानी पिउन पाएका छैनन् ।
पानीको अभावले विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्यमा गम्भिर असर गरिरहेको छ ।
पानी नहुँदा कालिका माविमा छात्राहरु रजश्वला भएको समयमा अझ बढी समस्या भोग्न बाध्य छन् । विद्यालयका शौचालय प्रयोग नहुने र सरसफाई गर्न पानी नहुने समस्याले माथिल्लो कक्षाका छात्राहरु महिनावारी भएको समयमा विद्यालय नजाने अवस्था रहेको कक्षा ८ की छात्रा सिता बसेलले बताइन् । अन्य दिन पानी पिउन समस्या भएपनि विद्यालय जाने गरिएको तर शौचालय र पानीको समस्याका कारण महिनावारी भएको समयमा विद्यालय जान नसकिने उनको भनाई छ । ‘शैक्षिक विकासका लागि अन्यन्त्र कतिधेरै कामहरु भएका सुनिन्छन् तर हामी विद्यालयमा पानी पनि पिउन पाउँदैनौं ।’ उनले भनिन्, ‘सुन्दा सामान्य जस्तो लाग्छहोला तर भोग्न निकै गाह्रो छ ।’ विद्यालयमा आउने सरोकारवालालाई पानीको व्यवस्थाका लागि अनुरोध गर्ने गरेपनि सुनुवाई नभएको विद्यार्थीहरुको दुखेसो छ ।
पानी अभावका कारण पठनपाठन प्रभावित बनेको प्राध्यानध्यापक दिपा तिमल्सिनाको भनाई छ । पानीकै अभावसँग जोडिएका समस्याले शैक्षिक वातावरण राम्रो बनाउन नसकिएको उनले बताइन् ।
नजिकै मुहान नभएकाले विद्यालयमा पानीको व्यवस्थापन मिलाउन नसकिएको विव्यस अध्यक्ष दिपक कुमार थापा बताए । तत्काल समस्या समाधानको सम्भावना नरहेको उनको भनाई छ ।

हरेक निर्वाचनमा भलुवाजोरमा पर्याप्त पानीको व्यवस्था गर्ने विषय चुनावी ऐजेण्डा बन्छ तर चुनाव जितेपछि जनप्रतिधिले आफ्नो चुनावी बाचा अनुसार पानी ल्याउन सकेका छैनन् ।
नजिक मुहान नभएकाले पानीको समस्या समाधान नर्ग नसकिएको वडा अध्यक्ष अशोक तामाङको भनाई छ ।
भलुवाजोरका धेरै टोलबस्तिसहित यहाँका कालिका मावि, वेतीनी माविलगायतमा विद्यालयमा पानीको हाहाकार छ ।
पानी पिउन नपाएका कारण कतिपय स्थानीय बसाइसरी अन्यत्र गएका छन् । भने कोही बेसी झरेका छन् ।
एक गाग्री पानी लिनकै लागि १ घण्टा टाढा गएर पालो पर्खनु पर्ने र थोरै पानी फारु गरेर खाँचो टार्नुपर्ने बाध्यताका बीच पुस्तौंपुस्ता देखि भलुवाजोरवासीले कष्टकर जिवनयापन गर्दै आएका छन् ।

प्रतिक्रिया