आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगाबाट नेकपा (एमाले)ले पाँच जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । नेकपा (एमाले) ओखलढुंगा जिल्ला कमिटीको सातौँ विस्तारित बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो नम्बरमा ईश्वर पोखरेललाई सिफारिस गरेको हो ।
बैठकले दोस्रो नम्बरमा पूर्व प्रदेश मन्त्री अम्बिरबाबु गुरुङ, तेस्रो नम्बरमा केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य यज्ञराज सुनुवारलाई सिफारिस गरेको छ ।
त्यसैगरी प्रदेश कमिटी सदस्य नानीबाबु बढाथोकी र जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का (जिबी) लाई पनि उम्मेदवारका रूपमा सिफारिस गरिएको नेकपा (एमाले) ओखलढुंगा प्रचार विभाग प्रमुख राजीव कटवालले जानकारी दिए ।

बुधबार बिहान ११ बजेदेखि सुरु भएको बैठक राति अबेरसम्म चलेको थियो । बैठकका क्रममा जिल्ला कमिटी तथा पालिका कमिटीका अधिकांश पदाधिकारीहरूले जिल्लामा विकासवादी नेताको पहिचान बनाएका र अहिलेको परिस्थितीमा चुनावी माहोल आफ्नो पक्षमा पारेर विजयी सुनिश्चित गराउन सक्ने सम्भावना भएको र नयाँ अनुहार पनि हुने भएकाले पूर्वमन्त्री अम्बिरबाबु गुरुङलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्न माग गरेका थिए । भूगोलबाट अधिकांशले गुरुङलाई जिल्लाबाट एकल उम्मेदवारका रुपमा सिफारिस गर्न र आजैबाट चुनावी तयारीमा जानुपर्ने धारणा राखेको भएपनि जिल्ला कमिटी र शिर्ष नेताहरुले उनको नाम सर्वसम्मत पठाएनन् ।
१८ जना आकांक्षी भए पनि अन्तिममा पाँच जनाको नाम टुंगो लगाएर केन्द्रमा पठाइएको एमालेले जनाएको छ ।
बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रदेश, जिल्ला तथा स्थानीय तहका प्रतिनिधि साथै विभिन्न जनसंगठनका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया