सोलुखुम्बुमा दलित समुदायलाई धार्मिक कर्मकाण्ड तालिम

नुतन श्रेष्ठ
350
Shares

सोलुखुम्बु जिल्लामा दलित तथा पिछडिएका समुदायलाई लक्षित गर्दै धार्मिक कर्मकाण्ड सम्बन्धी तालिम सुरु भएको छ। हिन्दु धर्ममा गरिने विभिन्न धार्मिक विधि, पूजा–पाठ तथा संस्कारबारे व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले एक साताको तालिम आयोजना गरिएको हो।

माप्यदुधकोशी गाउँपालिकाको आयोजनामा सुरु भएको उक्त तालिममा गाउँपालिकाका सातवटै वडाबाट प्रतिनिधित्व हुने गरी ११ जना दलित समुदायका व्यक्तिहरूको सहभागिता रहेको छ। तालिममा जन्म, विवाह, मृत्यु संस्कार, चाडपर्वलगायत धार्मिक कार्यमा गरिने विभिन्न कर्मकाण्डबारे जानकारी दिइँदै आधारभूत रूपमा धार्मिक कार्य सम्पन्न गर्न सक्षम बनाइने उद्देश्य राखिएको छ।

गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले गाउँघरमा अझै पनि छुवाछुतको प्रचलन पूर्ण रूपमा अन्त्य हुन नसकेको अवस्थामा दलित समुदायका अगुवालाई धार्मिक कर्मकाण्ड सम्बन्धी सीप प्रदान गर्नु आवश्यक रहेको बताए। उनले संविधानले छुवाछुतविरुद्ध स्पष्ट कानुन व्यवस्था गरे पनि व्यवहारमा अझै समस्या कायम रहेको उल्लेख गर्दै समुदायभित्रै जनशक्ति तयार पारेर समाधान खोज्न पालिका अघि बढेको बताए।

गाउँघरमा दलित समुदायको घरमा धार्मिक कार्य वा मृत्यु संस्कार गर्नुपर्दा ब्राह्मण समुदायका पुरोहितहरू उपस्थित नहुने समस्या रहेको सहभागीहरूले बताएका छन्। उता, ब्राह्मण समुदायका पुरोहितहरूले पनि दलितको घरमा कर्मकाण्ड गरेमा सामाजिक बहिष्कार र जातीय दण्डको डर हुने गरेको गुनासो छ।

गाउँपालिकाका उपाध्यक्ष गौरव राईले उद्घाटन सत्रलाई सम्बोधन गर्दै दलित वा अन्य पिछडिएका समुदाय पनि हाम्रै समाजको एक महत्वपुर्ण अंग भएकाले समानताको नारा बोलि वा भाषणमा मात्र नभई घरघरमा व्यवहारिक रुपमा अँगाल्न सक्नु पर्ने बताए । छुवाछुतको अन्त्य कागजी रुपमा भएता पनि व्यवहारिक रुपमा हुन नसकेको प्रति दुःख व्यक्त गर्दै उपाध्यक्ष राईले यसका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रम मार्फत सम्बोधन गरिहेको जिकिर गरे ।

यसरी सोलुखुम्बु जिल्लामा दलित समुदायका लागि तालिम आयोजना हुनु स्वागतयोग्य रहेको स्थानिय दलित अगुवा विकुमार विश्वकर्माले बताए । उनले गाउँपालिकाले समुदाय लक्षित यस्ता कार्यक्रम आयोजना गर्दा हामी सबैको मनोवल उच्च हुने बताउँदै समाजमा व्याप्त नकारात्मक सोच परिवर्तनमा पनि सहयोग पुग्ने पक्का छ ।

जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक जगबहादुर विश्वकर्माले तालिमपछि दलित समुदायका व्यक्तिहरूको क्षमता अभिवृद्धि हुनुका साथै भविष्यमा आर्थिक आम्दानीको बाटो समेत खुल्ने विश्वास व्यक्त गरे।

धार्मिक कर्मकाण्डले धार्मिक जीवनलाई व्यवस्थित, सुसंस्कृत र आध्यात्मिक बनाउने भएकाले सबै समुदायमा यससम्बन्धी दक्ष जनशक्ति आवश्यक रहेको सहभागीहरूको भनाइ छ। तालिममा स्थानीय पुरोहित कृष्णप्रदान घिमिरेले सहजीकरण गरिरहेका छन्।