आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिने निर्वाचन प्रहरीको बजेट सुनिश्चित भएको छ । अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेसँगै अब नेपाल प्रहरी र सशस्त्र प्रहरीले भर्ना प्रक्रिया अघि बढाउने भएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचन सुरक्षाका लागि आवश्यक बजेट माग गर्दै गृह मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पत्राचार गरेका थिए। उक्त फाइल लामो समय छलफलमै अड्किएको भए पनि अहिले अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
‘अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भएर आएको छ। अब निर्वाचन प्रहरी भर्नाको प्रक्रिया अघि बढ्छ,’ ती अधिकारीले बताए।
गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीका लागि निर्वाचन प्रहरी भर्ना प्रयोजनमा मात्रै ७ अर्ब १३ करोड २५ लाख ८९ हजार रुपैयाँ बजेट सुनिश्चित गरिएको छ। यो बजेट नियमित प्रहरी खर्चबाहेक निर्वाचन सुरक्षाका लागि छुट्टै उपलब्ध गराइएको हो।
त्यसैगरी, सशस्त्र प्रहरी बलका लागि पनि निर्वाचन प्रहरी भर्नामा प्रयोग हुने गरी ८० करोड ८४ लाख ५३ हजार रुपैयाँ बजेट सुनिश्चित गरिएको छ।
बजेट सुनिश्चित भएसँगै दुवै सुरक्षा निकायले जतिसक्दो छिटो निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सरकार सक्रिय बनेको संकेतका रूपमा यसलाई हेरिएको छ।
नेपाल प्रहरीलाई १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्नाका लागि मन्त्रालयले स्वीकृत दिएको छ । गृहले दिएको यो स्वीकृत प्रहरी हेडक्वार्टर पुगिसकेको छ । अब जतिसक्दो चाँडो निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइने नेपाल प्रहरीले बताएको छ ।
यसैबिच सशस्त्र प्रहरी बलले १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गर्न स्वीकृति पाएको छ ।
यसका लागि मन्त्रालयले निर्णय गरेर पठाइसकेको छ । ड्युटीमा खटिँदा सशस्त्रको संख्या थोरै भएकाले समस्या हुने भन्दै सशस्त्रले पनि निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो ।
सशस्त्र र नेपाल प्रहरी मातहत हुने निर्वाचन प्रहरीको पोशाक पनि फरकफरक हुने बताइएको छ ।
२०७९ सालको निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । अहिले भने पहिलाको भन्दा सुरक्षा चुनौती जटिल बनेको, फरक अवस्थामा निर्वाचन हुन लागेको, सुरक्षाकर्मीका लुटिएका हतियारहरू बाहिरै रहेको, कारागारबाट भागेका कैदी र थुनुवाका कारण सुरक्षा चुनौती थप जटिल बनेको, मतदाताको संख्या पनि थप भएको जस्ता कारणले निर्वाचन प्रहरीको संख्या बढाएर १ लाख ४९ हजार ९० पुर्याइएको छ ।

प्रतिक्रिया