भेनेजुएलामा उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी


भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुपर्ने फैसला गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, यसअघि भेनेजुएलाको उच्च अदालतले डेल्सी रोड्रिगेजलाई यो जिम्मेवारी सुम्पनु ‘प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न’ आवश्यक रहेको बताएको थियो ।

देशको निरन्तरता, सरकारको कार्यप्रणाली र सार्वभौमसत्ताको रक्षा गर्न राष्ट्रपतिको अनुपस्थितिको अवस्थामा कस्तो कानुनी रूपरेखा लागु हुन्छ भनेर निर्धारण गर्न अदालतले यस विषयमा थप विचार विमर्श गर्ने पनि बताएको छ ।

अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई आफ्नो देश लगेको छ ।

यसैबिच भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति मादुरो जीवित रहेको प्रमाण मागेकि छन।

मादुरोलाई पत्नीका साथ पक्राउ गरेर देशबाहिर लगिएको दाबी गरेपछि उपराष्ट्रपति रोड्रिग्जको भनाइ सार्वजनिक भएको हो ।

उपराष्ट्रपति रोड्रिग्जले राष्ट्रपति मादुरो जीवित रहेको प्रमाण मागेको र अवस्था अज्ञात रहेको समाचारमा उल्लेख गरिएको छ ।

यसअघि ट्रम्पले ट्रुथ सोशलमा लेखेका थिए, ‘अमेरिकाले भेनेजुएला र उसका नेता, राष्ट्रपति निकोलस मादुरोविरूद्ध सफलतापूर्वक ठूलो स्तरमा आक्रमण गरकोको छ । मादुरोलाई उनकी पत्नी साथ पक्राउ गरिएको छ र देशभन्दा बाहिर लगिएको छ ।’

राजधानी कारकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । उनले एक बयानमा अमेरिकी सैन्य आक्रमणको निन्दा गरेका थिए ।