स्थानीय बजारमा बुधवार सुनचाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यसअघि मंगलबार पनि सुनको मूल्यमा उल्लेख्य गिरावट आएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ थियो भने सोमबार २ लाख ७० हजार रुपैयाँ रहेको थियो । त्यस्तै, आइतबार सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य मानिन्छ। त्यसयता सुनको मूल्य निरन्तर घट्दो क्रममा देखिएको छ ।
यसैगरी, बुधवार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा ४ हजार ९५० रुपैयाँ पुगेको चाँदी बुधवार घटेर ४ हजार ४७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि पर्ने भएकाले सुनचाँदीको मूल्यमा यसरी फेरबदल हुँदै आएको व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया