कुलमानले नमान्दा निर्णायक भनिएको वार्ता अवरुद्ध


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच मध्यरातसम्म वार्ता भएको छ । वार्ता भए पनि सहमति भने जुट्न सकेन । 

आज राति भएको वार्तामा कुलमानले पार्टीको नाम उज्यालो नेपाल र चुनाव चिह्न चिम नै हुनुपर्ने अडान राखेका थिए । रविले पनि पार्टी सभापतिमा कार्यकारी अधिकार रहनुपर्ने बताएका थिए । दुवैपक्ष आफ्नो अडानबाट पछि नहट्दा वार्ता टुंगोमा पुग्न सकेको रास्वपाका एक नेताले जानकारी दिए । 

कुलमानले कार्यकारी सभापति आफू हुनुपर्ने बताउँदै आएका छन् । बालेनसँग भएको सहमतिमा रविले यो पद लिने सहमति भएको छ । 

“मध्यरातसम्म वार्ता भयो । तर, पदीय बाँडफाँटको कुरा नमिलेपछि निष्कर्षविहीन बन्यो,” ती नेताले भने, “अझै पनि सहमतिको प्रयास हुनेछ । आज पनि वार्तामा बस्ने सहमति भएको छ ।”

समानुपातिकतर्फको बन्दसूचीले अन्तिम रुप नपाउँदासम्म सहमतिको प्रयास हुने ती नेताले जानकारी दिए । 

“आज पनि वार्तामा बस्ने कुरा भएको छ । अपराह्नसम्ममा समानुपातिकर्फको बन्दसूची तयार पार्ने र त्यसबेलासम्म सहमतिका लागि कसरत हुनेछ,” रास्वपाका ती नेताले बाह्रखरीसँग भने ।