छन्द वाटिका नेपाल र स्रष्टा समाज कोशी प्रदेशको संयुक्त आयोजनामा विराटनगरस्थित विष्णुमाया पुस्तकालयको सभाहलमा एक भव्य कार्यक्रमका बीच कवि शारदा भट्टराईको छन्दोबद्ध कवितासङ्ग्रह ‘छन्द परिदृश्य’ लोकार्पण गरिएको छ।
कार्यक्रम छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेलको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रा.डा. टंकप्रसाद न्यौपाने प्रमुख अतिथि र मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, प्राज्ञ गङ्गा सुवेदी तथा खेम नेपाली विशेष अतिथिका रूपमा सहभागी थिए।
अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा विशेष अतिथिहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए। कृतिको समीक्षा समीक्षक बाबुराम पोखरेलले प्रस्तुत गरेका थिए।लोकार्पण समारोहमा वरिष्ठ साहित्यकार बलराम पोखरेल, राष्ट्रिय अनुसन्धान मोरङका उ. अनु. नि. (SP) राजन शर्मा सापकोटा, नेपाल स्रष्टा समाज कोशी प्रदेशका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, प्रा. कविराज न्यौपाने, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं, डा. देवी पन्थी, प्राध्यापक एकराज भट्टराई, साहित्यकार एकनाथ ढकाल, घनश्याम पौडेल लगायत विराटनगर, इटहरी, इनरूवा र बेलबारीसम्मका साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा कवि तथा छन्द वाटिका सचिव चिरञ्जीवी काफ्ले, राधा सुवेदी र शारदा कार्की लगायतका कविहरूले विमोचित कृतिभित्रका कविताहरू वाचन गरेका थिए।
पुस्तक प्रकाशक दधिराम पौडेल रहेको ‘छन्द परिदृश्य’ सङ्ग्रहमामा शास्त्रीय छन्दमा आधारित ६१ वटा कविताहरू समावेश छन्।

प्रतिक्रिया