चिनिया राष्ट्रपतिको आलोचनापछि अर्थशास्त्री गायव

साझा प्रेस
0
Shares

राष्ट्रपति सी चिनफिङलाई च्याट–ग्रुपमा आलोचना गरेपछि चीनको सरकारी थिंक–ट्यांकका एक अर्थशास्त्री केही महिनादेखि हराएका छन् ।

चाइनिज एकेडेमी अफ सोसल साइन्सेसमा पछिल्लो एक दशक उपनिर्देशक रहेका ५५ वर्षीय झु हेङपेङले वि–च्याटको एउटा गोप्य समूहमा केही महिनाअघि चीनको अर्थतन्त्र र राष्ट्रपतिको कडा आलोचना गरेका थिए । सो थिंक–ट्यांकले स्टेट काउन्सिल (चीनको मन्त्रिपरिषद) अन्तर्गत रहेर काम गर्छ ।

उनलाई अप्रिलमा एउटा वित्तीय विषयबारे लेख्ने मिडियाले आयोजना गरेको कार्यक्रमपछि सार्वजनिक रूपमा देखिएको छैन भन्दै द वाल स्ट्रिट जर्नलले लेखेको छ। उनको ठेगानामा र चिनियाँ मन्त्रिपरिषदको सूचना शाखामा उनीबारे सोधखोज गर्दा उनी कहाँ छन् भन्ने नखुलेको जर्नलले जनाएको छ । द गार्डियनले पनि सो थिंक–ट्यांकले उनीबारे प्रश्नहरूको जबाफ नदिएको लेखेको छ ।

उसै पनि नेतृत्वको आलोचना नरूचाइने कम्युनिस्ट चीनमा सीले सन् २०१३ मा शासन गर्न थालेपछि आलोचना निषेध गरिएको छ । उनी र उनको नीतिको आलोचना गर्नेलाई कारबाही गरेर पदबाट हटाउने मात्रै हैन देश निकाला र जेल नै सम्म पनि हाल्ने गरिन्छ ।

पछिल्ला वर्ष चीनको अर्थतन्त्र शिथिल भएको परिप्रेक्ष्यमा सीले अर्थतन्त्र राम्ररी नचलाएको भनेर झुले च्याट–ग्रुपमा प्रतिक्रिया जनाएका थिए। उनले अप्रत्यक्ष रूपमा सीको मृत्युबारे पनि बोलेको भनेर एक स्रोतलाई उद्धृत गर्दै जर्नलले लेखेको छ ।