पदयात्रा गाइडहरूका लागि ५ दिने ‘ट्रेल इन्स्पेक्टर र अडिटर’ तालिम


नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, दिगो र गुणस्तरीय बनाउने उद्देश्यका साथ अनुभवी ट्रेकिङ गाइडहरूका लागि ५ दिने ‘ट्रेल इन्स्पेक्टर र अडिटर तालिम’ सुरु भएको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र दिगो पर्यटन परियोजना (STP)— नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को संयुक्त पहल— द्वारा आयोजित यो तालिम सोमबारदेखि ठमेलस्थित होटल मुनलाइटमा सुरु भएको हो ।

तालिममा इलाम, मकालु, सगरमाथा, रोल्वालिङ, मनास्लु, अन्नपूर्ण, डोल्पा, रारा–जुम्ला र धौलागिरी–सिस्ने क्षेत्रका २२ जना अनुभवी लाइसेन्सप्राप्त ट्रेकिङ गाइडहरूको सहभागिता रहेको छ । सहभागीहरूमध्ये ३ जना महिला पदयात्रा गाइडहरू रहेका टानका सिईओ रामचन्द्र सेढाईंले जानकारी दिए।

सेढाईंका अनुसार पदमार्गहरूको अवस्था मूल्यांकन गर्ने, मर्मतसम्भार र स्तरोन्नतिका लागि आवश्यक कदम चाल्ने र पदयात्रालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित बनाउने क्षमता विकास गर्नु यस तालिमको मुख्य लक्ष्य हो ।

तालिमको उद्घाटन समारोह टानका महासचिव सोनाम जी शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो । टान कार्यसमिति सदस्य एवं तालिम विभाग संयोजक राजु गुरुङले कार्यक्रमको सहजीकरण गरे भने अर्का कार्यसमिति सदस्य एवं तालिम विभागका सह-संयोजक अम्वीर बहादुर गुरुङले सहभागीहरूलाई स्वागत गरेका थिए ।

विज्ञ प्रशिक्षकहरूको संलग्नता:

तालिमलाई प्रभावकारी बनाउन टान (TAAN), राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC), नेपाल पर्यटन बोर्ड (NTB), खानी तथा भूगर्भ विभाग (DoMH), राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (DNPWC) र वन तथा भू-संरक्षण विभाग (DoFSC) का विज्ञ स्रोत व्यक्तिहरूले प्रशिक्षण दिइरहेका छन् ।

यो तालिमले दक्ष जनशक्ति उत्पादन गरी नेपालका पदयात्रा मार्गहरूको नियमित अडिट र निरीक्षण गर्ने संयन्त्र बलियो बनाउने विश्वास लिइएको छ । यसबाट पर्यटकहरूले गुणस्तरीय सेवा पाउने मात्र नभई स्थानीय समुदायको हित र प्राकृतिक पारिस्थितिकी प्रणालीको संरक्षणमा समेत टेवा पुग्ने आयोजकको अपेक्षा छ ।