निर्वाचन आयोगले कानुनअनुसार आवश्यक विवरण र स्पष्टीकरण नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको छ । मंगलबार बसेको आयोगको बैठकले ती दलहरूको दर्ता खारेज गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ ।
खारेज हुने दलहरूमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) र नेपाल समाजवादी पार्टी रहेका छन् ।
यसअघि आयोगले यी ६ दलसँगै शिव सेना नेपाललाई तीन दिनभित्र स्पष्टीकरणसहित आवश्यक विवरण बुझाउन निर्देशन दिएको थियो । आयोगका अनुसार शिव सेना नेपालले मागअनुसार विवरण बुझाए पनि बाँकी ६ दलले न त विवरण पेश गरे न त स्पष्टीकरण नै दिएका थिए ।
आजको बैठकले निर्णय गरिसकेको भए पनि प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले औपचारिक जानकारी भोलि सार्वजनिक गरिने बताएका छन् ।
आयोगका अनुसार कानुनले तोकेबमोजिमको विवरण उपलब्ध नगराउनु र पटक–पटक स्पष्टीकरण सोध्दा समेत जवाफ नआएकाले ती दलहरूको दर्ता खारेज गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया