जेन–जी आन्दोलनकारी माथि प्रहरीको हस्तक्षेप


काठमाडौंको माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन–जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको छ । सो क्रममा अभियन्ता निकोलस भुसालसहित केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै यसअघि पनि माइतीघर पुगेका भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यतिबेला उनी गाँजा सेवन गरी आन्दोलनमा सहभागी भएको मेडिकल जाँचबाट पुष्टि भएपछि पुनःस्थापना (रिह्याब) केन्द्रमा राख्ने सर्तमा आफन्तको जिम्मामा छाडिएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना, रविकिरण हमालसहितका जेन–जी अभियन्ताहरूले ‘संयुक्त आन्दोलन’को नाममा माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनस्थलमा केही घाइतेसमेत उपस्थित भएका थिए ।

तर, प्रशासनको अनुमति नलिई कार्यक्रम आयोजना गरिएको भन्दै प्रहरीले आन्दोलनकारीलाई माइतीघर क्षेत्रबाट हटाएको हो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको बताइएको छ ।

प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिबारे थप विवरण सार्वजनिक गरिसकेको छैन भने आन्दोलनकारी पक्षले राज्य दमनको आरोप लगाएको छ ।