छुट्टाछुट्टै भेलाहरू आयोजना हुनु पार्टीका लागि हानिकारक: ज्ञवली


नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी महाधिवेशनपछि पुनः आन्तरिक असन्तुष्टि र छुट्टाछुट्टै भेलाहरू आयोजना हुनु पार्टीका लागि हानिकारक हुने चेतावनी दिएका छन्।

उनले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायको रूपमा स्वीकार नगर्ने प्रवृत्तिले एमाले ‘अन्त्यहीन बहस क्लब’मा रूपान्तरण हुने खतरा रहेको बताए । महाधिवेशन सम्पन्न भएलगत्तै केही नेताहरूले अलग्गै भेला गरेको सन्दर्भ उल्लेख गर्दै ज्ञवालीले यस्ता गतिविधि अपेक्षित नभएको प्रतिक्रिया दिए।

उनका अनुसार महाधिवेशनले गरेका निर्णय अन्तिम मानिनुपर्छ र त्यसपछि पनि ‘मुद्दा कायमै’ राख्ने हो भने पार्टी एकता, अनुशासन र राजनीतिक प्रभावशीलता कमजोर हुँदै जान्छ। ‘महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो, त्यसको फैसला पनि अन्तिम नमानिने हो भने पार्टी अन्त्यहीन बहसको थलो बन्छ,’ ज्ञवालीको भनाइ छ। उनले एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको प्रमुख कारण नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाइएका प्रश्नहरूको उत्तर दिनु रहेको स्पष्ट पारे।

तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्राएर एउटा बिन्दुमा ल्याइपुर्‍याएका छौँ तर जित्नु पर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ र पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ, अब हाम्रो समग्र ऊर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र ? ’ उनको प्रश्न छ ।