एमालेको काँधमा असाधारण जिम्मेवारी: अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएका छन् ।

११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ निर्वाचित केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ सो जिम्मेवारी पुरा गर्नुपर्ने बताए। ओलीले एमालेको ११ औँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको बताउँदै एमालेको महाधिवेशन हरेक कोणबाट सफल महाधिवेशन भएको दाबी गरे । ओलीले पार्टी भित्र समय समयमा केही केही समस्या देखिएको बताउँदै आगामी दिनमा त्यस्ता कमजोरीहरू प्रकट नहुन् भन्ने कामना समेत गरे।

‘हाम्रो एक आवाज हुनुपर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीति अनुसार हामी अगाडि बढ्ने छौँ, बेतालमा बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौँ,’ उनले भने । ओलीले असन्तुष्टि नेतृत्व समक्ष मौखिक वा लिखत रूपमा पेस गर्न निर्देशन दिए ।

उन्नत समाज निर्माणको अग्रदस्ता राजनीतिक पार्टी र ती मध्य पनि अग्रदस्ताको रूपमा रहेको एमाले भित्र दृढ अनुशासन अपरिहार्य रहेको उनको भनाइ थियो। एमालेका विरुद्ध अनेक भ्रम फिँजाइएको बताउँदै उनले यस्ता कुराबाट प्रभावित नहुन नेताहरूलाई आग्रह गरे । अब एमाले भित्र कुनै गुट र प्यानल नभएको बताउँदै उनले अब एमाले एक ढिक्का भएर अगाडि बढ्ने स्पष्ट पारे । देश अहिले अप्ठेरो अवस्थामा रहेको बताउँदै ओलीले त्यो अप्ठेरोबाट देशलाई सहज बाटोमा ल्याउने काम एमालेले गर्ने उनको दाबी थियो ।