सञ्चारकर्मी खत्री रास्वपा मा प्रवेश


सञ्चारकर्मी राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बुधबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनी औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश लगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै खत्रीले आफू कुनै नेताको पछि लाग्ने झोले बन्न नभई विवेक प्रयोग गर्ने कार्यकर्ता बन्न राजनीतिमा होमिएको स्पष्ट पारे।

खत्रीले भने, ‘झोले भनेको विचारलाई बन्धकी राखेर ‘हो’ मा ‘हो’ मात्र मिलाउने व्यक्ति हो। तर, कार्यकर्ताको आफ्नो विचार हुन्छ, उसले विवेकको प्रयोग गर्छ। म कार्यकर्ता बन्नका लागि रास्वपामा प्रवेश गरेको हुँ।’

विगत २० वर्षदेखि पत्रकारितामा सक्रिय खत्रीले बुधबारदेखि आफ्नो पेसागत यात्रालाई स्थगन गर्दै राजनीतिक यात्रा आरम्भ गरेको घोषणा गरे।

उनले पत्रकारितामा रहँदा सधैँ भुइँमान्छेको आवाज बोलेको र सत्तालाई प्रश्न गरेको स्मरण गर्दै अब ती मुद्दालाई राजनीतिक मञ्चबाट अघि बढाउने बताए।

‘मैले पत्रकारिता गर्दा कहिल्यै कुनै दलको झोला बोकिनँ, तर आज म गर्वका साथ रास्वपाको साधारण सदस्य बनेर झोला बोक्दैछु,’ उनले भने।