नेपाली कांग्रेस ओखलढुंगाले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेद्वार सिफारिस गरेको छ । मंसिर २३ र २४ गते बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका लागि उम्मेद्वार सिफासिर गरेको हो ।
प्रत्यक्षतर्फ निवर्तमान सांसद समेत रहेका कांग्रेस केन्द्रिय सदस्य रामहरी खतिवडासहित ६ जनालाई सिफारिस गरिएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेद्वारका लागि खतिवडासहित नेताहरु बालकृष्ण दाहाल, खिलानाथ दाहाल, गोमा केसी, कुमार लुईटेल र रुद्र अधिकारीको सिफारिस भएको नेपाली कांग्रेस ओखलढुंगाका सह–सचिव भोज कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ जना महिला नेतृको नाम ओखलढुंगा कांग्रेसले सिफारिस गरेको छ । बाला अधिकारी, सबिता राई र संगिता तामाङको नाम जिल्लाबाट सिफारिस भएको हो ।
राष्ट्रियसभामा पुरुषतर्फ जय बहादुर श्रेष्ठ, सिताराम श्रेष्ठ, चन्द्र बहादुर श्रेष्ठ र टिकाराम कार्कीको नाम सिफारिस गरिएको छ भने महिलातर्फ हेमालक्ष्मी राई, मैया राई र निर्मलादेवी रैकालाई सिफारिस गरिएको छ ।
राष्ट्रियसभामा दलिततर्फ भने मिन बहादुर विश्वकर्मा, युवराज गजमेर, सुन्तला अधिकारी परियार र चन्द्र बहादुर नेपालीलाई सिफारिस गरिएको छ ।
उम्मेद्वारको रुपमा आकांक्षा राख्ने सबैको नाम केन्द्रिय समितिलाई सिफारिस गरिएको नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ ।
बैठकले क्रियाशील सदस्यता नविकरणको काम सम्पन्न गरेर यहि मंसिर मसान्तभित्र केन्द्रिय समितिमा सिफारिस गर्ने र नयाँ क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गरि आगामी पौष ७ गतेभित्र केन्द्रिय समितिमा विवरण पठाउने लगायतको निर्णय गरेको छ ।

प्रतिक्रिया