३३ बालबालिकासहित ५० जनाको मृत्यु


सुडानको दक्षिण कोर्डोफान क्षेत्रको कालोगी सहरमा ड्रोन आक्रमण हुँदा एक किन्डरगार्टेनमा प्रहार हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । मृत्यु हुनेका ३३ जना बालबालिका रहेका बीबीसीले जनाएको छ ।

सुडानको गृहयुद्धमा सेनासँग लडिरहेको अर्धसैनिक समूह, र्‍यापिड सपोर्ट फोर्सेजमाथि चिकित्सा संगठन सुडान डाक्टर्स नेटवर्क र सेनाले बिहीबार भएको उक्त आक्रमणको आरोप लगाएका छन् ।

र्‍यापिड सपोर्ट फोर्सेजबाट तत्काल कुनै टिप्पणी आएको छैन । र्‍यापिड सपोर्ट फोर्सेजले भने सुडानी सेनाले डारफर क्षेत्रको एउटा बजारमा शुक्रबार ड्रोन आक्रमण गरेको र चाडसँगको अद्रे सीमा नाकामा रहेको इन्धन डिपोमा प्रहार गरेको आरोप लगाएको छ ।

पहिले सहयोगी रहेका र्‍यापिड सपोर्ट फोर्सेज र सेनाबीच शक्ति संघर्ष सुरु भएपछि सुडानमा अप्रिल २०२३ देखि युद्धले विनाश मच्चाएको छ ।

सेना–समर्थित परराष्ट्र मन्त्रालयका अनुसार, किन्डरगार्टेनमा ड्रोनबाट प्रहार गरिएका क्षेप्यास्त्रले दुईपटक आक्रमण भएको थियो ।

विद्यालयमा हतारिएर पुगेका नागरिक र चिकित्सकहरूमाथि पनि आक्रमण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

कालोगीमा भएको आक्रमणको प्रतिक्रियामा संयुक्त राष्ट्र बालकोष युनिसेफका प्रवक्ताले बालबालिकालाई विद्यालयमै मारिनु बालबालिकाको अधिकारको डरलाग्दो उल्लंघन भएको बताएका छन् । उनले भनेका छन्, “द्वन्द्वको मूल्य बालबालिकाले कहिल्यै तिर्नु हुँदैन ।”

र्‍यापिड सपोर्ट फोर्सेजले सेनामाथि अद्रे नाकामा आक्रमण गरेको आरोप लगाएको छ । त्यो नाका सहायता र व्यापारिक सामानहरू वितरणका लागि प्रयोग भइरहेको थियो ।