काभाको पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्ने

साझा प्रेस
1.2k
Shares

आईतबारबाट शुरु हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल घरेलु टोलि श्रीलंकासँग खेल्ने भएको छ । शुक्रबार अबेर काभाले जारी गरेको खेल तालिकाअनुसार नेपालको पहिलो खेल असोज २० गते श्रीलंकासँग हुने पक्का भएको हो ।

असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुने प्रतियोगिताको दोस्रो खेलमा नेपालले असोज २१ गत उज्वेकिस्तानको समान गर्नेछ ।

असोज २२ मा तेस्रो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालले चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ मा फाइनल खेल हुनेछ । झन्डै डेढ महिनाको प्रशिक्षण पछि नेपाली टोली प्रतियोगितामा भाग लिन विहीबार श्रीलंका गएको हो ।

केहि महिनाअघि काठमाडौंमा‌ भएको यु १९ भलिबल च्याम्पियनसिपको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो । छनौट भएको नेपाली टोलीमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर रहेका छन् ।

गत महिना माल्दिभ्समा सम्पन्न काभा यु २० च्याम्पियनसिपमा भने नेपालले कास्य पदक जितेको थियो ।

यसैबिच प्रतियोगिताका लागि श्रीलंकन एयर मार्फत कोलम्बो पुगेका भलिबल खेलाडीहरुको सम्पुर्ण लगेज त्रिभुवन अन्र्तराष्टिय विमानस्थलमा नै छुटेको छ । सम्बन्धित एयरलायन्सको कमजोरीका कारण खेलाडीका सम्पुर्ण पोशाक तथा प्रशिक्षणका सामाग्रि काठमाण्डौमा नै छुटेको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । अध्यक्ष चन्दका अनुसार छुटेका खेलाडीहरुको लगेज चाँडै नै कोलम्बो पठाउने प्रयास भईरहेको छ ।