युक्रेनले डोनबास क्षेत्र नछोडे रुसले जबरजस्ती लिने पुटिनको चेतावनी


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेना पूर्वी डोनबास क्षेत्रबाट फिर्ता नभए रुसले उक्त क्षेत्र कब्जा गर्ने चेतावनी दोहोर्‍याएका छन् । 

युक्रेनमा युद्ध समाप्त गर्ने विषयमा अन्य कुनै पनि सम्झौतामा आफू सहमत हुन नसक्ने बताउँदै उनले भने, “हामी उक्त क्षेत्र बलपूर्वक कब्जा गर्छौं वा युक्रेनी सेनाले आफैँ त्यो क्षेत्र छोडनुपर्छ ।” 

हाल मस्कोले डोनबासको करिब ८५ प्रतिशत भाग नियन्त्रणमा राखेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले उक्त भूभाग त्याग्न नसकिने स्पष्ट पारेका छन् ।

मस्कोमा मंगलबार भएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना शान्ति वार्ताकारहरूले रुसी नेताले युद्ध समाप्त गर्न चाहना व्यक्त गरेको विश्वास रहेको बताएपछि पुटिनको यो टिप्पणी आएको हो ।
 
मस्कोमा रहेका ट्रम्पका दूत स्टिभ विटकफ फ्लोरिडामा युक्रेनी टोलीसँग भेट गर्ने तयारीमा छन् । ट्रम्पले क्रेमलिनमा मंगलबार भएको वार्ता राम्रो भएको बताए पनि यसको परिणामबारे अझै निश्चित नभएको उल्लेख गर्दै भने, “यसमा दुई पक्षको भूमिका हुन्छ ।”

अमेरिकी शान्ति योजनाको मूल प्रस्तावमा युक्रेनी नियन्त्रणमा रहेको डोनबास क्षेत्र रूसलाई हस्तान्तरण गर्ने प्रावधान थियो । तर, विटकफको टोलीले मस्कोमा भएको छलफलका क्रममा उक्त योजनाको संशोधित संस्करण प्रस्तुत गरेको बताइएको छ । 

दिल्ली आउनुअघि ‘इन्डिया टुडे’लाई दिएको अन्तर्वार्तामा पुटिनले विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग वार्ताअघि आफूले संशोधित संस्करणबारे थाहा नपाएकाले वार्ताका प्रत्येक बुँदा अलग–अलग गरी चर्चा गर्नुपरेको र त्यसले वार्तालाई लामो बनाएको बताए ।

उनले मस्को अमेरिकी योजनाका केही अंशसँग सहमत नभएको बताए । उनले विवादित बुँदाहरूको नाम भने खुलाएनन् । तर, रुसी सेनाद्वारा कब्जा गरिएका युक्रेनी क्षेत्रहरूको भविष्य र युक्रेनको सुरक्षा ग्यारेन्टी कम्तिमा दुई प्रमुख विवादित मुद्दा रहेको प्रष्ट पारे ।

पुटिनका वरिष्ठ विदेश नीति सल्लाहकार तथा प्रमुख वार्ताकार यूरी उशाकोभले पनि वार्तापछि युद्ध समाप्त गर्ने विषयमा कुनै औपचारिक समझदारी नभएको बताएका छन् । उशाकोभले युद्धक्षेत्रमा हालैका सफलताले रूसी वार्ता स्थिति बलियो भएको संकेत गरे । 

युक्रेनले भने रूसलाई युद्धविराम सम्झौतामा अवरोध खडा गरेको आरोप लगाउँदै मस्को थप युक्रेनी भूभाग कब्जा गर्न खोजिरहेको दाबी गरेको छ ।

क्रेमलिन वार्ताबारे टिप्पणी गर्दै युक्रेनी विदेश मन्त्री आन्द्री सिब्हियाले पुटिनले संसारको समय बर्बाद गरिरहेको आरोप लगाए । युक्रेनले लामो समयदेखि कुनै पनि सम्झौतामा आफ्नो सुरक्षा ग्यारेन्टीलाई अनिवार्य मान्दै आएको छ ।

बुधबार, जेलेन्स्कीले संसारले युद्ध समाप्त गर्ने वास्तविक अवसर महसुस गरिरह पनि वार्ताका लागि रुसलाई दबाब दिन आवश्यक रहेको बताए ।