कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी

साझा प्रेस
100
Shares

कोशी प्रदेश सरकारले कोशी प्रदेश लगानी सम्मेलनको तयारी सुरु गरेको छ । आगामी माघ ११, १२ र १३ गते आयोजना गर्ने भनिएको सम्मेलनको तयारीका लागि मुल आयोजक समिति निर्माण गरी काम सुरु गरिएको हो ।

शुक्रबार आयोजक समितिको पहिलो बैठकमा सम्मेलनमा सफल बनाउन सम्पुर्ण शक्ति एकत्रित गर्दै अगाडी बढ्ने बिषयमा छलफल भएको छ । आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघ सरकार, स्थानीय सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा सम्मेलन सफल पार्नु पर्ने बताए । उनले ढुंगाभित्रबाट पनि पिपलको बोट उम्रिने बताउँदै प्रदेश सरकारसँग अनेकौँ चुनौति छन् पिपलको बोट उम्रिएजस्तै चुनौतिलाई पार गरेर अघि बढ्नु पर्ने उल्लेख गरे ।

प्रदेश लगानी सम्मेलनको बैठकमा सहभागीहरुले स्वदेशी लगानीकर्तालाई आकर्षित गर्ने परियोजनाहरु प्रस्तुत गर्नुपर्ने, भारतीय उद्योगपतिहरुलाई आकर्षित गर्ने गरी योजना बनाउनु पर्ने, कानूनी जटिलतालाई छिटो र छरितो ढंगले निरुपण गर्नु पर्ने जस्ता सुझाव दिएका छन् ।

गत असोज १३ गते बसेको कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले अवधारणा पत्र पारित गरेपछि काम सुरु भएको हो ।