‘अभिमन्यु’मा रेखा थापाको अभिनय


चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को निर्माण टिमले दर्शकलाई ‘सरप्राइज’ दिएको छ । रेखा थापा यो चलचित्रमा रहेको हालसम्म जानकारी नदिएको निर्माण टिमले यो ‘सरप्राइज’ प्रिमियरमार्फत दिएको हो । 

चलचित्रमा रेखा थापा क्लाइमेक्समा देखिन्छिन् । उनलाई दर्शकले नेपाल प्रहरीको अनुसन्धान अधिकृत अथवा प्रहरी निरीक्षकको भूमिकामा देख्नेछन् । 

तर, रेखाको सस्पेन्स इन्ट्रीसँगै चलचित्र सकिन्छ । रेखाको इन्ट्रीले ‘अभिमन्यु च्याप्टर–२’मा उनी मुख्य भूमिका मध्ये एकमा हुने प्रष्ट संकेत गरेको छ । 

‘अभिमन्यु’ले सोमबार भएको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको छ । कथावाचन, कलाकारको अभिनय र सस्पेन्स ड्रामाको सिनेमा हेर्नेले तारिफ गरेको निर्माणपक्षले जानकारी दिएको छ । 

मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शनमा आउने चलचित्र ‘अभिमन्यु’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । अतिथि भूमिकामा रेखा थापा रहेकी छन् । 

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को कथा मुकेश खनालले लेखेका छन् ।